प्रदेश नम्बर १ लाई 'किराँत प्रदेश' नामकरण गर्न माग
काठमाडौँ – प्रदेश नम्बर १ लाई ‘किराँत प्रदेश’ नामकरण गर्नुपर्ने किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले माग गरेको छ । किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्न बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त विषयको माग गरिएको हो ।
कात्तिक २५ गतेदेखि यही मंसिर ९ गते सम्पन्न हुन लागेको नेपालको १२ औं राष्ट्रिय जनगणनामा बाम्बुले समुदायको कोड नम्बर ४३ को मूल प्रश्नलाई विभागले त्रुटि गरी याम्बुले र दुमीलाई डुमी बनाएको भन्दै उक्त गल्तीलाई तत्काल सच्याउन पनि सरकारसमक्ष माग गरिएको महासचिव दिवस राईले जानकारी दिए । यस्तै जननायक राम राईलाई राष्ट्रिय विभूति घोषणा गर्न र किराँत विश्वविद्यालय स्थापना गर्नुपर्ने पनि घोषणा पत्रमार्फत माग गरिएको छ ।
भौतिक विकासका नाममा ऐतिहासिक सांस्कृतिक महत्त्व बोकेको किराँत राई जातिको सम्पदा रहेको गढी, किल्ला, दरबारमाथि हुँदै आएको अतिक्रमण बन्द गर्न र तिनीहरुको संरक्षणका लागि तत्काल पहल गरिनुपर्ने भनिएको छ । किराँत राई जातिको महान चाड साकेला, उभौली, उद्यौलीमा देशव्यापी रूपमा कम्तीमा पाँच दिन र आदिवासीले मान्ने सबै राष्ट्रिय चाडमा अन्य राष्ट्रिय चाडपर्वसरह सार्वजनिक बिदा गर्न पनि माग गरिएको छ ।
समितिको आयोजनामा सम्मेलन कात्तिक २७, २८ र २९ गते काठमाडौंमा भएको थियो । सम्मेलनमा नेपालसहित १४ देशका प्रतिनिधिको सहभागिता रहेको थियो । सम्मेलनमा १६ बुँदे घोषणापत्र जारी गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया