राजनीति

नेकपा कार्यालय बाँडफाँटमा लफडा

‘जुन समूहले वैधानिकता पाउँछ, उसैले पार्टी कार्यालय पनि पाउँछ, हामी लड्दैनौं’

अनिष भट्टराई |
पुस ९, २०७७ बिहीबार ८:७ बजे

पोखरा : मंसिर ५ मा गण्डकी प्रदेशसभा सदस्य मधु अधिकारी गुरुङ लमजुङको नेकपा जिल्ला कार्यालयमा थुनिइन् । आफू २ घन्टा थुनिएको उनले सुनाइन् । तत्कालीन नेकपा एमालेका कार्यकर्ताले आफूमाथि तथानाम गाली गरेको र लछारपछार पारेको उनको भनाइ थियो । ‘पार्टी कार्यालय गएकी थिएँ, मलाई २ घन्टाभित्रै थुने, गाली र लछारपछार पारे,’ गुरुङले भनिन्, ‘तेरो बस्‍ने अधिकार छैन, यो हाम्रो कार्यालय हो भन्दै निकाल्न खोज्दा मैले मानिनँ, भित्रै थुने ।’

लमजुङमा साविक नेकपा एमालेको पार्टी कार्यालयलाई नेकपा जिल्ला कार्यालय बनाइएको छ । साविक माओवादी केन्द्रको कार्यालयमा भने पार्टी अध्यक्ष अधिकारीको आवास छ । एकीकरण प्रक्रिया पूरा नुहँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि साविक एमाले र माओवादी केन्द्रका कार्यालय भवन स्वामित्वमा लफडा देखिन थालेको छ । त्यसको सुरुआत लमजुङबाट भएको छ । कार्यालयबारे अहिलेबाट नै झगडा थालेर ओलीपक्षले आफ्नो सभ्यता देखाएको लमजुङकी नेतृ अधिकारीले बताइन् । ‘नेताले जस्तो सिकायो, त्यस्तै सिके । अहिले नै केको झगडा गर्नुपर्‍यो ? पार्टी कहाँ फुटेको छ ?’ उनले प्रश्न गरिन् ।


गण्डकीको नेकपा प्रदेश पार्टी कार्यालय साविक नेकपा एमालेको कार्यालयमा छ । अहिले उक्त कार्यालयमा सशस्त्र प्रहरी बलको एक डफ्फा सम्भावित हुलदंगा रोक्न खटिएको छ । तर नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्द नेपाली जुन समूहले वैधानिकता पाउँछ, त्यो समूहले चलाउने र आफूहरु झगडामा नउत्रिने बताउँछन् । ‘जुन समूहले वैधानिकता पाए पनि हामी स्वीकार गर्छौं,’ नेपालीले भने । पाण्डे अहिले बहुमत सदस्य प्रचण्ड-माधव पक्षमा रहेकाले आफूहरुले वैधानिकता पाउन सक्ने बताउँछन् । ‘तर, झगडा गर्न आए अर्कै कुरा,’ उनले भने ।

नेकपाको कास्की जिल्ला कार्यालय साविक नेकपा एमालेको कार्यालय शान्तिवनमा छ । साविक नेकपा माओवादीको पार्टी कार्यालय शिवालय चोकमा भने अहिले नगर पार्टी कार्यालय छ । नेकपा कास्की जिल्ला कमिटीमा ओली खेमा बलियो छ । अध्यक्ष कृष्ण थापा ओलीपक्षधर हुन् भने सचिव बखानसिंह गुरुङ प्रचण्डपक्षका हुन् । जिल्ला पार्टी कार्यालय कास्कीको कार्यालय कुन पक्षले लिनेबारे सम्भावित लफडालाई ख्याल गर्दै सुरक्षाकर्मी खटाइएको छ । नेपाल प्रहरीका ७ जना र सशस्त्र प्रहरी बलका १० जना सुरक्षार्थ त्यहाँ खटिएका छन् ।

तनहुँको नेकपा जिल्ला पार्टी कार्यालयलाई नेपाल प्रहरीले सुरक्षा दिएर राखेको छ । तर प्रचण्ड-माधव पक्षका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपाने आफूहरु पार्टी कार्यालयका लागि नलड्ने बताउँछन् । ‘जुन समूहले वैधानिकता पाउँछ, उसैले पार्टी कार्यालय पनि पाउँछ, हामी लड्दैनौं, बल लगाएर हुँदैन,’ न्यौपानेले भने ।

म्याग्दीमा भने लमजुङ घटना दोहोरिन सक्ने देखिन्छ । पार्टीका जिल्ला अध्यक्ष गोविन्द पौडेल प्रचण्ड-माधव पक्षका हुन् भने पार्टी सचिव हरिकृष्ण श्रेष्ठ ओलीपक्षधर । साविकको नेकपा एमालेको पार्टी कार्यालयमा अहिले जिल्ला पार्टी कार्यालय छ । साविक माओवादीले भने भाडामा कार्यालय चलाएको थियो । अध्यक्ष पौडेल कुनै हालतमा आफूहरु पार्टी कार्यालय नछाड्ने र झगडा भए रोक्न सक्ने तागत आफूसँग भएको बताउँछन् । सचिव श्रेष्ठसमेत आफूहरुको कार्यालय पहिलेबाट त्यही रहेकाले नछाड्ने ढिपी कस्छन् ।

पर्वतको पार्टी कार्यालयका लागि आफूहरु विवाद नगर्ने तर निर्वाचन आयोगको निर्णय अनुसार चल्ने पार्टी सचिव सुदीप कुँवर बताउँछन् । उनी प्रचण्ड-माधव पक्षधर हुन् । तर ओली पक्षधर लक्ष्मण गिरीले तत्कालीन माओवादीले अहिलेको पार्टी कार्यालयमा एउटा टेबलसमेत नल्याएको र नेकपाबाट माधव नेपाल पक्ष बाहिरिएकाले उनीहरुले पार्टी कार्यालयमा दाबी गर्न नसक्ने बताउँछन् । ‘हामीले नै उनीहरुको ऋण तिर्ने, एउटा टेबल नजोड्ने, पार्टीबाट जानेलाई हाम्रो सम्पत्ति किन दिने ?’ गिरी भन्छन् ।

बागलुङमा प्रचण्ड-माधव पक्षको पल्ला भारी छ । जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा र सचिव यामनाथ गैरे (अनीश) दुबै प्रचण्ड-माधव पक्षका हुन् ।त्यहाँ ओली पक्ष कमजोर हुँदा कार्यालयमा प्रचण्ड-नेपाल पक्षले पकड जमाउन सक्ने देखिन्छ । स्याङ्जामा भने ओली पक्षले कार्यालय लिन सक्छ, त्यहाँका अध्यक्ष र सचिव दुवै ओली पक्षका छन् । जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरेसाविक माओवादीका भए पनि ओलीपक्षमा लागिसकेका छन् । सचिव मीनप्रसाद गुरुङ पहिलेदेखि नै ओलीपक्षधर हुन् ।

मनाङ, मुस्ताङमा समेत अहिलेसम्म पार्टी कार्यकर्ता र नेतामा अहिलेसम्म वैमनश्य नदेखिएकाले पार्टी कार्यालयका लागि दाबी नगरिने देखिन्छ । नवलपुरमा भने ओली समूहले आफ्नो गुन्टा सारिसकेको छ । कावासोतीको १ घरमा भाडामा चलेको पार्टी कार्यालयबाट ओली समूहले आफ्नो सामान सारेर लगिसकेको छ । ओली समूहका एक कार्यकर्ताका अनुसार ती सामानमा अर्को पक्षले दाबी गर्न सक्ने भन्दै सामान सारिसकिएको हो ।

गोरखामा भने आफूहरु मिलेर कार्यालय बाँडफाँट गर्ने गोरखा जिल्ला सचिव प्रेम गुरुङ बताउँछन् । मदन-आश्रित स्मृति भवनमा सञ्चालित कार्यालयमा इतर समूहले हकदाबी नगर्ने र गरेपनि आफूहरु हार्दिकताका साथ बाँडफाँट गर्ने उनले सुनाए । ‘पहिलो कुरा त मदन नामलेनै एलर्जी भएका साथीहरु त्यहाँ बस्‍नुहुन्‍न, खोज्‍नुभयो भने पनि हार्दिकताले हामी व्यवस्थापन गर्छौं,’ गुरुङले भने ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x