राजनीति

धनुषामा स्थगित कांग्रेस पालिका निर्वाचन आइतबार

सुभाष कर्ण |
मंसिर ४, २०७८ शनिबार १७:५९ बजे

जनकपुरधाम - धनुषामा स्थगित नेपाली कांग्रेस पालिकाको निर्वाचन आइतबार हुने भएको छ । निर्वाचन अधिकृत अरूण ज्ञवालीले शनिबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् । 

पालिका स्तरीय मतदाताको नामावलीमाथि प्राविधिक कार्य पूरा भइसकेकाले निर्वाचन मिति तय गरिएको उनले बताए । निर्वाचन सम्पन्नपछि क्षेत्रीय मतदाताको नामावलीको प्राविधिक कार्य सम्पन्नलगतै प्रदेश सभा क्षेत्रीय निर्वाचनको मिति तोक्ने उनले जानकारी दिए ।


यसअघि पालिकाको मंसिर ४ र क्षेत्रीय निर्वाचन मंसिर ६ गतेका लागि तोकिएको थियो । ज्ञवालीका अनुसार जिल्लाका ४ निर्वाचन क्षेत्रमध्ये २ र ४ मा सहमति नपुगेर क्षेत्रीय प्रतिनिधिको नामावली आउन नसक्दा कम्प्युटरको सफ्टवेयर लोड गर्न बाँकी रहेको छ । 

शुक्रबार ज्ञवालीले सूचना प्रकाशन गरी मंसिर ४ र ६ गतेका लागि तय गरिएको पालिका तथा प्रदेश क्षेत्रीय अधिवेशन तत्कालका लागि प्राविधिक कारणले स्थगित गरिएको जनाएका थिए । स्थगित गरिएको सूचना प्रकाशनको २४ घण्टा नबित्दै निर्वाचनमध्ये पालिका स्तरीय निर्वाचन आइतबार हुने भएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x