कांग्रेस इलामको क्षेत्रीय सभापतिमा चारपक्षीय भिडन्त
इलाम - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय निर्वाचन हुँदैछ । दुई निर्वाचन क्षेत्र रहेको इलाम क्षेत्रीय सभापतिका लागि चारपक्षीय भिडन्त हुने भएको छ । इलाममा संस्थापन समूह र संस्थापन इतर समूहबाट दुई, दुई जना क्षेत्रीय सभापतिले उम्मेदवारी दर्ता गरेका छन् ।
इलाममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिएका दुई, दुई जना जिल्ला सभापतिका आकांक्षी छन् । जिल्ला सभापतिका आकांक्षी चारै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । पार्टी सभापति तथा प्रधानमन्त्री देउवानिकट मानिएका पूर्वजिल्ला सभापति केशव थापा र डम्बर खड्का जिल्ला सभापतिका आकांक्षी हुन् । यस्तै पौडेल समूहनिकट भनिएका वर्तमान सभापति हिमालय कर्माचार्य र भेषराज आचार्यसमेत जिल्ला सभापतिको दौडमा छन् ।
इलामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा रोङ गाउँपालिका अध्यक्ष समशेर राई उम्मेदवारी दिएका छन् । उनी जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्यनिकट हुन् । क्षेत्रीय सभापतिको दौडमा दुर्गा बराल छन् । उनी जिल्ला सभापति हिमालय कर्माचार्यको प्यानलबाट क्षेत्रीय सभापतिको उम्मेदवार भएका हुन् ।
यस्तै डम्बर खड्काको प्यानलबाट भीष्म प्रधानले क्षेत्रीय सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्रीय सभापतिका अर्का दाबेदार मिलन क्षेत्री हुन् । क्षेत्रीयले पूर्वजिल्ला सभापति केशव थापाको प्यानलबाट चुनावी मैदान ओर्लिएका हुन् ।
इलामको क्षेत्र नम्बर २ मा पनि क्षेत्रीय सभापतिको लागि चारै जना उम्मेदवारी दर्ता गराएका छन् । माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिंगोले क्षेत्रीय सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । इधिंगो जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्यको प्यानलबाट क्षेत्रीय सभापतिको उम्मेदवार भएका हुन् ।
क्षेत्रीय सभापतिको दौडमा इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठ छन् । उनी कांग्रेसको पूर्वजिल्ला सभापति केशव थापानिकट उम्मेदवार हुन् । इलाम नगरपालिका-४ का उम्मेदवार नूतन दुलालले पनि क्षेत्रीय सभापतिमा मनोनयन दर्ता गराएका छन् । दुलाल जिल्ला सभापति हिमालय कर्माचार्यको प्यानलबाट निर्वाचनमा होमिएका हुन् ।
क्षेत्र नम्बर २ मा जिल्ला सभापतिका आकांक्षी डम्बर खड्काको प्यानलबाट मनबहादुर बुढाथोकी क्षेत्रीय सभापतिको उम्मेदवारी दर्ता गराएका छन् । इलामको क्षेत्र नम्बर १ बाट २६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । जसका लागि ६० जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत रमेश जोशीले जानकारी दिए ।
क्षेत्र नम्बर २ बाट २५ जना महाधिवेशन प्रतिनिधि छानिन्छन् । त्यसमा पनि ६० जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ता लिने समय रहेकाले उम्मेदवारको संख्या घट्नसक्ने निर्वाचन अधिकृत जोशीले बताए । ‘मिलाउने निर्वाचन फिर्ता लिनको लागि हामीले समय दिएका छौं,’ उनले भने, ‘कसैको उम्मेदवारी फिर्ता पनि हुन सक्छ ।’
कांग्रेसको यस अघिसम्पन्न प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा भने जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्यको समूह बलियो देखिएको छ । चार वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये तीन वटामा आचार्य समूहको उम्मेदवारले नेतृत्व हत्याएको छ । आचार्यको प्यानलबाट निर्वाचन क्षेत्र नम्बर १ ‘क’ निष्कल राई, २ को ‘क’ मा गोपाल चौहान र २ ‘ख’ मा खगेन्द्र लिम्बू सभापतिमा निर्वाचित भएका छन् । १ को ‘क’ मा भने मैया लिम्बू निर्वाचित भइन् । उनी डम्बर खड्कानिकट मानिन्छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया