राजनीति

देउवालाई शेखरको जवाफ- महाधिवेशन प्रतिष्पर्धाबाटै हुनुपर्छ

'प्रधानन्यायाधीशले निकास नदिए देश अफ्ट्यारो स्थितमा जान्छ'

बाबुराम भण्डारी |
मंसिर ६, २०७८ सोमबार १८:१६ बजे

विराटनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन स्वस्थ प्रतिस्पर्धाबाट हुनुपर्ने बताएका छन् । सोमबार कोइराला निवास विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

महाधिवेनका लागि कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचन सकिएर महाधिवेशन प्रतिनिधि चयन हुने बेलासम्म आइपुग्दा पार्टी सभापति शेरबहादुर देउवाले सहमतिमै नेतृत्व चयन गर्न कार्यकर्तालाई दिएको निर्देशनप्रति संकेत गर्दै कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन् ।


देउवाले सहमतिको कुरा गरे पनि जिल्लाहरूमा भइरहेको गतिविधिले सहमति हुनसक्ने अवस्था नदेखिएको कोइरालाको तर्क छ । आइतबार सुनसरीको देवानगञ्ज गाउँपालिका भवन उद्घाटन कार्यक्रममा देउवाले सहमतिमै प्रतिनिधि चयन गर्नुपर्ने धारणा राख्दै सहमति हुनै नसक्ने अवस्थामामात्रै निर्वाचन प्रक्रियामा जानुपर्ने बताएका थिए ।  

‘सहमतिकै कुरा गरेको हो भने त्यसलाई अन्यथा भन्दिनँ, तर महाधिवेशन सहमति हुने अवस्था म देख्दिनँ, त्यहाँ स्वस्थ प्रतिस्पर्धाबाटै अधिवेशन हुनुपर्छ,’ सहमतिका लागि पार्टी सभापति देउवाले राखेको उक्त प्रस्तावबारे टिप्पणी गर्दै कोइरालाले भने । उनले सभापति देउवाले बाहिर जेसुकै भने पनि भित्र त्यस्तो अवस्था नरहेको बताए ।

‘त्यसको ज्वलन्त उदाहरण डडेलधुरा नै हो, सर्लाही नै हो । नत्र भने के कारणले दुई तीनवटा निर्वाचन समिति परिवर्तन गर्नुपर्यो सर्लाहीमा, के कारणले हो डडेलधुरामा पुलिस प्रशासन लगाइकन अधिवेशन गर्नुपर्‍याे ? त्यसले त कमजोर मानसिकता देखियो नि’ कोइरालाको प्रश्न छ, ‘गृहमन्त्रीकै जिल्लामा मारपिट हुन्छ, पुलिस प्रशासन लगाएर गुण्डा लगाएर मारपिट गरिन्छ, त्यस्तो अधिवेशनले हामीले के म्यासेज दिन खोजेको ? सर्लाहीमा निर्वाचन अधिकृतले नै कुट्न जानुहुन्छ, कार्यकर्तालाई के म्यासेज दिन खोजेको हामीले ?’

कोइरालाले निर्वाचन समितिलेसमेत निर्वाचनमा निष्पक्षता देखाउन नसकेको भन्दै निर्वाचन समितिको निश्पक्षतामाथि नै प्रश्न उठेको दाबी गरे । ‘कोसिस गर्दैछौं, भयो भने ठिक । भएन भने स्वस्थ प्रतिस्पर्धा हुन्छ किन चिन्ता गरेको तपाईंहरूले ? एकातिरबाट एउटै उम्मेदवार हुनुपर्छ भन्दै हुनुहुन्छ भने शेरबहादुरजी र विमलेन्द्रजी पनि त चुनाव लड्दै हुनुहुन्छ नि त अर्को साइडबाट, किन चिन्ता गर्ने ?,’ संस्थापनइतरबाट एउटै उम्मेदवार हुन्छ भन्ने प्रश्नमा कोइरालाले भने ।
 
प्रधानन्यायधीशको ‘ग्रेसफुल इक्जिट’

न्यायलयमा देखिएको विवादबारे प्रधानन्यायधिशले ‘ग्रेसफुल इक्जिट’ गर्नुपर्ने कोइरालाले बताए । ‘अब ग्रेसफुल एक्जिट, ग्रेटफुल भनेको वहाँको पनि चित्त बुझ्ने गरी, किनभने यति विवादित भइसक्यो,’ उनले भने, ‘केही न केही वहाँको कमी कमजोरी छ, वहाँले गरेका निर्णयलाई त शीरोपर गरेकै छ हामीले, तर जसरी न्यायपालिका चलाउँदै हुनुहुन्छ, ग्रेटफुस निकास वहाँले दिनसक्नु भएन भने त देशै अप्ठेरो परिस्थितिमा जान्छ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x