प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै बालुवाटारसम्म मार्चपास गरिने
फाइल तस्बिर
काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले बिहीबार मार्चपास गर्ने भएको छ ।
पापडले बिहीबार दिउँसो २ बजे सर्वाेच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको हो । यसबारे जानकारी दिन मंगलबार पापडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीश नियुक्तिको प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न हामी दलहरूलाई ध्यानाकर्षण गर्दछौँ । तत्काल महाभियोगको प्रक्रिया थाल्दै वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्ने गरी दबाब दिन हामी यही मंसिर ९ गते संयुक्तरूपमा बालुवाटार न्याय मार्च गर्ने घोषणा गर्दछौं ।’
प्रधानन्यायाधीश जबराको आचरण, न्यायिक क्षमता र नेतृत्वमाथि गम्भीर आक्षेपका साथ न्यायाधीश तथा अधिवक्ताहरू एकसाथ आन्दोलित हुनुपरेको भन्दै पापडले परिस्थितिको जटिलतालाई बेवास्ता गरेर गठबन्धन सरकारले जबराको निरन्तरतामा आफ्नो मिलेमतो रहेको छर्लङ्ग पारेको र देशमा न्याय–शून्यता सिर्जना गरिदिएको आरोप लगाएको छ ।
पापडमा नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ तथा नेपाल आदिवासी जनजाति महासंघ आवद्ध छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया