राजनीति

एमाले महाधिवेशनः मङ्सिर ११ गते उम्मेदवारी मनोनयन

इकागज |
मंसिर ७, २०७८ मंगलबार १८:४७ बजे

काठमाडौँ - नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ । निर्वाचन आयोगले मङ्सिर ११ गते अपराह्न १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन हुने आयोगका सचिव बाबुराम दाहालले जानकारी दिए । उनले उद्घाटन सत्र सकिएपछि निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताए । महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय उपकरणबाट पहिलो पटक मतदान हुने भएको छ ।

आयोगका सचिव दाहालले मतदानका लागि ९२ वटा उपकरण प्रयोग गरिने जानकारी दिए । महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५/१५ जना गरी कूल २५५ पदका लागि  निर्वाचन हुनेछ । ती पदमा गत कात्तिक २७ गते निर्वाचित भएका एक हजार १९९ जना प्रतिनिधिले मतदान गर्ने छन् ।
 
उम्मेदवारीको मनोनयन गरिसकेपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुनेछ । उनका अनुसार एक जना प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न आधा घण्टा लाग्ने छ । विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उनले बताए । दाहालले एउटा मेसिनमा २२ देखि २३ जनाले मतदान गर्ने व्यवस्था गरिएको जानकारी दिए । निर्वाचनमा ५० किसिमका विद्युतीय मतपत्र रहने छन् ।


महाधिवेशनमा एमालेले निर्वाचनका लागि ९२ वटा मेसिनको प्रयोग गर्ने छ तर महाधिवेशनस्थलमा १०० वटा मेसिन लगिने छ । पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास गराइरहेको छ । दाहालले महाधिवेशनस्थलमा तीनवटा मेसिन र मोबाइलबाट नमूना मतदान गराइने बताउनुभयो । राम–लक्ष्मण इनोभेसनका निर्देशक लक्ष्मण रिमालले मतदान भएको चार घण्टामै मतपरिणाम घोषणा गर्ने बताए । रासस


Author

थप समाचार
x