राजनीति

‘शीर्ष’हरूका नातिनातिनी पुस्ता के सोच्छन् ? के चाहन्‍छन् ?

सृजना खड्का |
पुस १०, २०७७ शुक्रबार ७:४१ बजे

नेपाल अनेक राजनीतिक व्यवस्थाको प्रयोगशाला जस्तो भएको छ । व्यवस्था बदलिए पनि पात्र र प्रवृत्ति भने उस्तै र उही रहनु नेपालको नियति नै बनेको छ । पच्चीसौँ वर्षदेखि उनै पात्र प्रधानमन्त्री र पार्टी प्रमुखका रुपमा सत्तासीन छन्, रहने कोसिसमा छन् । जब कि, पछिल्लोपटक सशस्त्र युद्ध सुरु भएकै २५ वर्ष भइसक्यो । यसपटक हामीले यस्तै २५ वर्ष वरपरका पुस्ता, जो अहिलेका तथाकथित शीर्ष नेताहरूका नातिनातिनी पुस्ता हुन्, उनीहरूका कुरा सुनेका छौँ । 

यो देश पाकाभन्दा बढी किशोरकिशोरीहरूको हो, किनकि स्वभावैले अर्थात् उमेरैले उनीहरू यो माटोमा बढी रहनेछन् र माया बढी नै पनि हुनेछ उनीहरूलाई । युवाहरू भविष्यका कर्णधार मात्र होइन, वर्तमानका साझेदार पनि हुन् । सानाका पनि कुरा सुनौँ भन्‍ने हाम्रो आग्रह, अनुरोध, विन्ती सबै छ । देशको विभिन्‍न क्षेत्रबाट अनेक समूहगत प्रतिनिधित्व गर्ने युवाहरूका यी भनाइले संकेत गर्छन्, उही बासी तथा सडेगलेका कसिंगर पात्रहरूलाई फेरि पनि मतपेटिकामा हैन, फोहोरपेटिकामा खसाल्ने बेला भइसकेको छ ।


पटकपटक अवसर पाएर पनि राम्रो शून्य र नराम्रो सय काम गरेकाहरूबाटै अझ आश गर्ने, उनीहरूलाई नै अघि सार्ने छोराछोरी पुस्तालाई क्रस गरेर नातिनातिनी पुस्ता फ्रन्टलाइनर हुने सम्भावना पनि प्रबल छ । इकागजको यो प्रस्तुतिमा अरु अरु हिसाबले सन्तुलन–समानुपात मिलाउने कोसिस गरे पनि एउटा कुरामा भने हामी एकपक्षीय देखिएका हुन सक्छौँ । जति कोसिस गर्दा पनि यो राजनीतिबारे वाक्क, दिक्क, प्याक्क नभएका युवाहरूका विचार ल्याउनै सकस भयो हामीलाई । राजनीतिबारे दंग र मख्ख परेका युवाहरूका विचार पनि हामी खोजिरहेका छौँ, कतै भेटाउनुहुने महानुभावले ती व्यक्ति/विचार कृपया हामीसम्म पुर्याइदिने कष्ट गर्नुभए हामी कृतज्ञ हुनेछौँ । 

शासकले अन्ततः औकात देखायो 
कुन्साङ, हुम्ला
देशमा बेरोजगारी, महामारी, अर्थतन्त्र सब अस्थिर छ । यसलाई उँभो लगाउन दुई तिहाइ मत पाएर सत्तामा उभिएको नेकपाबाट केही होला भन्‍ने आश थियो । यस्तो अवस्थाबाट हामीले सरकारबाट अभिभावकीय साथको अपेक्षा गरेका थियौं । तर, शासकले अन्ततः आफ्नो औकात देखाइछाड्यो ।

प्रधानमन्त्रीबाट नेपाली युवाको सपनामाथि जुन कुठाराघात भएको छ, यो अत्यन्तै निन्दनीय छ । व्यक्ति फेरिए पनि प्रवृत्ति नफेरिने र युवा आफैंले नेतृत्वको जिम्मेवारी सम्हाल्ने आँट नगर्दासम्म यो राजनीति यस्तै हो । अब युवा नै सचेत र जागरुक हुनुपर्छ ।

राजनीति त ‘स्वार्थनीति’ पो रहेछ 
कबिन श्रेष्ठ, भक्तपुर
अहिलेको राजनीति हेर्दा राजनीति भनेको त आफ्नो स्वार्थ र गुटका लागि काम गर्ने भाँडो पो रहेछ । लोकतन्त्र भनेको यही हो त ? हाम्रै भोटले छानिएका नेताहरूलाई अहिले न हाम्रो चिन्ता छ, न देशको । यो आफू लडेर बस्ने बेला हो कि जनताको समस्या सुन्‍ने ?

आशावादी र सकारात्मक युवा भेटाउन सकिएन, सबै निराश-हतास र उदास छन् 

उखु किसानको समस्या कहाँ पुग्यो महाशयहरू ? अनि कोभिडको भ्याक्सिन नि ? हैन यिनीहरूलाई निद्रा चाहिँ कसरी लाग्छ ? वास्तवमा यो राजनीति होइन ‘स्वार्थपूर्ति नीति’ रहेछ । 

नेताले जनतालाई भकुण्डो बनाए
स्मृति रानाभाट, पोखरा
म कानुनको विद्यार्थी हुँ । राष्ट्रपतिद्वारा संविधानको जुन धारा र उपधारा टेकेर प्रतिनिधिसभा विघटन गरियो भनियो, त्यो सब फेक हो । संविधान विपरीत कदम हो । देशको रक्षा गर्ने अभिभावकले यसो गर्न नहुने हो । राष्ट्रपति संस्था आफैंमा स्वतन्त्र संस्था हो । तर, अहिले जनताको नभएर व्यक्तिगत संस्था भएको छ । प्रधानमन्त्रीले आफू काम गर्न नसक्ने हुँदा ‘सकिनँ’ भन्‍न सक्नुपर्छ । नेताहरू पनि आफू पारदर्शी देखिन सक्नुपर्छ ।
कोभिडको खोपका लागि जुट्नुपर्ने बेलामा सत्ताको खेलका लागि टुट्नु भनेको जनतालाई बेवास्ता गर्नु हो । हामी जनतालाई नेताहरूले भकुन्डो बनाएर पालैपालो खेलाइरहेका छन् ।

‘कु विकासोन्मुख’ देश नेपाल
बिकेश कविन, इटहरी 
नेपाल विकासोन्मुखभन्दा पनि ‘कु विकासोन्मुख’ देश भइरहेको छ । जुन बहुत दुःखको कुरा हो । अब त देशमा राम्रो सरकार आउला भनेर सोच्‍नु भ्रममा बाँच्‍नु हो । तथापि, आशा भने गरौँ । देशमा सुःशासन कायम होओस् । सत्तामा रहेकाहरूबाट जनताप्रति अपनत्व प्रदान होओस् र सरकार आफू केन्द्रित नभई जनमानस केन्द्रित होओस् भन्‍ने मेरो चाहना छ । तर, यहाँ त ठीक उल्टो भइरहेको छ । 

भोट सबै वाग्मतीमा बगाए
उर्मिला स्याङ्तान, महोत्तरी 
देशको राजनीतिक क्रियाकलाप देखेर लाज नेताहरूलाई लाग्नुपर्ने हो तर, मलाई लागिरहेको छ । देशको राष्ट्रपति, प्रधानमन्त्री भएर कानुन विपरीत काम गर्न शरम हुनुपर्ने हैन र ? कुर्सी र पदका लागि यतिसम्म होला भनेर सोचेको पनि थिइनँ । संविधान आएपछि ‘लौ अब त केही होला नि’ भन्‍ने झिनो आश थियो । तर, नेताले जनताको भोट सबै वाग्मतीमा बगाए । 

‘राजनीतिक स्थिरता’ कुन चराको नाम हो ? 
अंकलाल चलाउने, डोल्पा
२००७ सालको प्रजातन्त्र स्थापनादेखि अहिलेसम्म झण्डै सात दशक बितिसक्यो । तर, ‘राजनीतिक स्थिरता’ कुन चराको नाम हो थाहा छैन । व्यवस्था फेरबदल तीव्र गतिमा भयो । बाँकी सबै निहित स्वार्थका लागि मात्रै भए । व्यक्तिगत स्वार्थले संस्थागत कुरा  नै भताभुङ्ग पारे । युवाहरूले यो बेलामा ‘यो ठीक भइरहेको छैन’ भनेर बोल्नुपर्ने हो । तर, कित्ता जता बाँडियो युवाहरू त्यतैतिर लागे । युवाहरू खाली झोले भएर बसे । अमेरिकामा राष्ट्रपतिले दुई कार्यकाल मात्र काम गर्न पाउँछ । त्यस्तै व्यवस्था यहाँ पनि हुनुपर्छ । यसो हुँदा म मात्रै प्रधानमन्त्री भइराख्नुपर्छ भन्‍नेहरूको चुरिफुरी झर्छ । 

नेताहरूसँग मलाई चित्त दुखेको छ 
भुमिका थारु, दाङ
कोभिडको संकट छँदै थियो । त्यसमाथि राजनीतिक उथलपुथल । हामी सबैको चाहना राजनीतिक स्थिरता हो । यो विघटन असंवैधानिक छ । दुई तिहाइको सरकारले निराश तुल्याएर हामीमाथि अपमान गरेको छ । पोल–पोलमा टाँगिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ गफमा मात्रै सीमित भयो । देशमा शान्ति, समृध्दि र सुशासन आउला भन्‍ने कत्रो आश थियो । नेताहरूसँग एकदमै चित्त दुखेको छ । अब राजनीतिक स्थिरता कहिले हुन्छ ? पार्टीहरू फुटेर हैन जुटेर कहिले लाग्छन् ?

सोचेझैँ राजनीति रैनछ
अनिल नेपाली, रामेछाप
हामी सबैको चाहना स्थिर राजनीति हो । लोकतान्त्रिक नेपालमा आइपुग्दा राजनीति स्थिर होला भन्‍ने आश थियो । उनीहरूका चुनावी नारा दीर्घकालीन रुपमा स्थापित होलान् भन्‍ने थियो । तर, सोचेझँै राजनीति रैनछ । अब त हामीलाई राजनीतिप्रति नै विश्वास उठिसकेको छ । भोलि के हुन्छ भनेर भन्‍न सक्ने अवस्था पनि छैन । नेकपाको अहंकारले हामी युवाको भविष्य नै अन्धकारतिर धकेलिदियो । निर्वाचन भएर अर्को मान्छे सत्तामा पुगे पनि हुनेवाला केही छैन । नेपाली हुनु नै हाम्रो दोष भयो ।

व्यवस्था फेरियो, अवस्था फेरिएन
विपना शर्मा, नवलपरासी
अहिलेको राजनीतिक अवस्था सिर्जना हुनु भनेको लोकतन्त्रको संस्थागत विकासमा बाधक हो । जनताको भावनामाथि खेलबाड भएको छ । पार्टीभित्रको कुरा भनेको घरभित्रको कुरा हो । पार्टीभित्रको कुरा पार्टीभित्रै मिलाउनुपर्ने हो । र, भित्रको किचलोले गर्दा छिमेकीको प्रभाव पनि बढ्ने देखिन्छ ।

अहिलेको क्रियाकलाप लोकतन्त्र फुलाउन होइन, उजाड्नका लागि भइरहेको छ । व्यक्तिलाई कमजोर बनाउने नाममा जनताको चाहना विपरीत काम भएको छ । देशा व्यवस्था फेरियो अवस्था फेरिएन । राम्रलाई भोट गर्ने आधा युवा विदेशमा छन् । भोट दिने पुरानै पुस्ताले हो । फेरि नेतृत्व परिवर्तन कसरी हुन्छ ? लोकतन्त्र संस्थागत गर्नेभन्दा पनि यहाँ त लोकतन्त्र विरोधीहरूलाई मौलाउने मौका पो मिल्ने हो की । 

देश अशान्तितिर जान्छ 
पचुलाल माझी, सर्लाही
उसै पनि कोभिडले देश थला परिरहेको थियो । त्यसमाथि संसद् विघटन गरेर देश थप थला परेको छ । यसले देशमा ठूलो आर्थिक भार पर्छ । आर्थिक भार थेग्न फेरि पनि विदेशीको सहयोग लिनुपर्छ । देश अशान्तितिर जान्छ । विरोध हुन्छ । आन्दोलन हुन्छ । हत्या-हिंसा निम्तिन सक्छ ।

सांसदहरू पनि विवादबाट चोखा छैनन् । उनीहरूले आफ्नो जिम्मेवारी पूर्ण रुपले निभाएका थिएनन् । विकासको नाममा करोडौँ रुपैयाँ खर्च गरिरहेका थिए । लुटतन्त्र मच्चाइरहेका थिए । यो घटनाले पक्कै पनि उनीहरूलाई झक्झक्याएको हुनुपर्छ ।

प्रधानमन्त्री-राष्ट्रपति सम्बन्धको ट्रोल बनाउने बेला हो ?
रुपा सुनार, तनहुँ
देशमा यस्तो बिजोग भइरहेको छ तर, धेरै युवालाई थाहा नै छैन । यो विषयलाई हाँसोठट्टामा उडाएर बसेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री र राष्ट्रपतिको सम्बन्धलाई लिएर ट्रोल बनाएर बसिरहेका छन् । युवा हो ! यो ट्रोल बनाएर बस्ने बेला होइन । देशमा जुन असंवैधानिक गतिविधि भइरहेको छ त्यसविरुध्दमा सडकमा उत्रिने बेला हो ।

समस्या नेताहरूसँगै युवाहरूमा पनि छ । राजनीति नबुझेका ट्रोल बनाएर बसेका छन् । बुझेकाहरूले आ–आफ्ना पक्षका नेतालाई काँधमा बोकेर विवाद उचालिरहेका छन् । सामाजिक सञ्जालमा विपक्षी दलका नेताहरूलाई तथानाम गाली गरेर बसिरहेका छन् । यो हदसम्मको असंवैधानिक गतिविधिलाई पनि ‘ठीकै भयो’ भन्दै हिँड्ने युवाहरू पनि छन् । हैन, हामी सबैको घैटौँमा घाम चाहिँ कहिले लाग्छ ?
 
राजनीतिले मेरो मन ढुङ्गा बनायो
राजन केसी ‘प्रमोद’, सल्यान
देशमा जेसुकै भए पनि अब मलाई कुनै कुराले छुँदैन । देशको राजनीतिले मेरो मन ढुङ्गा बनाइसक्यो । मैले देशको चिन्ता नै गर्न छाडिसकेँ । राजनीतिप्रति म एकदमै नकारात्मक छु । त्यसैले यो विषयमा चासो लिँदा झनै नकारात्मक भइन्छ भनेर सोच्नै छाडिसकेँ । आश गर्नै छाडिसकेँ । मलाई सत्तामा यो भइदिए हुन्थ्यो वा सत्ताबाट यो हटिदिए हुन्थ्यो भन्‍ने पनि छैन । कसैप्रति भरोसा नै छैन । तर, इन्जिनियरिङको विद्यार्थी भएको नाताले विकास निर्माणका क्रियाकलापलाई राजनीतिले प्रभाव पारेको देखेर भने दुःख लागेको छ । 

प्रस्तुति : सृजना खड्का 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x