कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित
धनगढी - नेपाली कांग्रेस कैलालीको शुक्रबार हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने समय आइसकेको र जिल्ला अधिवेशन गर्न समय अपुग हुने देखिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म स्थगन गरिएको जानकारी दिए ।
धनगढीमा मंसिर १६ र १७ गते प्रदेश अधिवेशनको तयारी गरिएको छ । प्रदेश अधिवेशन गर्ने जिम्मा कैलाली कांग्रेसलाई दिइएको छ । जिल्ला अधिवेशन केन्द्रीय महाअधिवेशनपछि मात्र गर्ने तयारी गरिएको जनाइएको छ ।
जिल्लामा कांग्रेसको वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तहको अधिवेशन चरणबद्धरूपमा सम्पन्न भइसकेको छ । जिल्ला सभापतिका आकांक्षी वर्तमान उपसभापति प्रकाश बम, धनगढी उपमहानगरका प्रमुख नृपबहादुर ओड, पूर्वउपसभापति नारायणदत्त भट्ट, गणेश देउवा, युवा नेता भीम बडुवाल र खेमराज चौधरी कांग्रेसको केन्द्रीय महाअधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन् ।
कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन् । रावल कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा भएको महाअधिवेशनबाट प्रतिनिधिमा निर्वाचित भएका हुन् । कांग्रेस प्रतिनिधिसभा तहको अधिवेशनसम्म आइपुग्दा पूर्वसांसद, मन्त्री, पार्टीको महाअधिवेशन र महासमिति सदस्यको जिम्मेवारीमा पुगिसकेका नेता महाअधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा पराजित भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया