राजनीति

कांग्रेस इलाम सभापतिमा डम्बर खड्का निर्वाचित

इकागज |
मंसिर ११, २०७८ शनिबार १८:५४ बजे

इलाम -  नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्याशी भेषराज आचार्यलाई १ सय ६० मतले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन् । 

खड्काले ९३५ मत प्राप्त गरेका छन् भने आचार्यले ७ सय ७५ मत प्राप्त गरेका छन् । १ हजार ७ सय ३२ जनाले मतदान गरेको इलाममा खड्काले अन्तिम १ सय ३२ मत गणना गर्न बाँकी हुँदै सभापतिमा आफ्नो स्थान सुरक्षित गरेका थिए । १ हजार ६ सय मत गणना हुँदै खड्काले ८ सय ७० मत पाएका थिए । 


खड्का कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट उम्मेदवार हुन् । आचार्य भने संस्थापनइतर समूहमा थिए । १४ औं महाधिवेशनमा जिल्ला सभापतिका लागि चार आकांक्षी थिए । डम्बर खड्का, भेषराज आचार्य, हिमालय कर्माचार्य र केशव थापाको सभापतिमा चर्चा थियो । मनोनयनको अन्तिम समयमा कर्माचार्य र थापाले गठबन्धन गरेर खड्कालाई सघाएका थिए भने आचार्य गठबन्धनबिना आफ्नै प्यान बनाएर चुनावमा होमिएका थिए । संस्थापन समूहका खड्कालाई सघाएका हिमालय कर्माचार्य भने पौडेलपक्षनिकट मानिन्छन् भने थापा देउवानिकट नै हुन् । 

उपसभापतिमा खगेन्द्र देवान र विष्णु लिम्बु दाहाल निर्वाचित भएका छन् । देवानले ८ सय ७४, दाहालले ७ सय ७८ मत प्राप्त गरिन् उपसभापतिमा निर्वाचित दुवैजना भेषराज आचार्य प्यानलबाट निर्वाचित भएका हुन् । उपसभापतिमा पराजित केदार थापाले ७ सय ४७ मत र होम दुलालले ६ सय ९९ मत पाएका छन् । उनीहरू दुवै जना खड्का नेतृत्वको गठबन्धनबाट उपसभापतिका प्रत्याशी थिए । 

सचिवमा पूर्ण गौतम र निरोज खड्गी निर्वाचित भए । गौतमले ८ सय १९ र खड्गीले ७ सय ९३ मत प्राप्त गरे । गौतम आचार्यको प्यानलबाट निर्वाचित भएका हुन् भने खड्गी डम्बर खड्का नेतृत्वको गठबन्धनबाट सचिव निर्वाचित भएका छन् । सचिव पदका प्रत्याशी विष्णु कार्कीले ७ सय २२ र हुकुमलाल थेवेले ७ सय १५ मत पाएका छन् । कार्की भेषराज आचार्य प्यानलबाट र थेवे खड्का नेतृत्वको गठबन्धनबाट सचिव पदमा चुनाव भिडेका हुन् ।

सहसचिवमा भने डालाकुमारी कार्की र देवेन्द्र कुमार सुवेदी चुनिएका छन् । ८ सय ६५ मत र सुवेदीले ७ सय ८१ मत पाएका छन् । कार्की खड्का नेतृत्वको गठबन्धन र कार्की आचार्य प्यानलबाट सहसचिव निर्वाचित भएका हुन् । सहसचिवमा पराजित चक्र एक्तेन अभिषेकले ६ सय ६५ र ६ सय ३४ मत पाएका छन् । इलामबाट अपांगता भएका व्यक्तिहरूको कोटाबाट माधव चम्लागाईं महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । चम्लागाईंले ८ सय ५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी किशोर कुमार कार्कीले ३ सय ५९ र रविचन्द्र अधिकारीले २ सय ४२ मत पाएका छन् । 

जिल्ला सदस्यहरूको मतगणना जारी छ । जिल्ला सदस्यमा नौ जना सर्वसम्मत भएका छन् । पालिकाहरूबाट चयन हुने अधिकांश महिला सदस्य र केही पुरुष सदस्य जिल्ला कार्यसमितिमा सर्वसम्मत चयन भएका हुन् । देउमाई नगरपालिकाबाट सावित्रा देवी श्रेष्ठ, माइनगरपालिकाबाट राधिका कार्की, चुलाचुलीकी विन्दादेवी बस्नेत, माइजोगमाईकी राममाया लिम्बु, सन्दकपुरकी सविता गुरुङ, इलाम नगरपालिकाबाट रिना घिमिरे, सूर्योदय नगरपालिकाकी रजनी मुखिया महिला कोटाबाट निर्विरोध भएका हुन् । त्यस्तै चुलाचुलीका गणेश फागो, माङसेबङ्गुका नन्दकुमार राई जिल्ला सदस्यमा निर्विरोध भए ।


Author

थप समाचार
x