खोटाङमा मतदाता नामावली संकलनको तयारी
खोटाङ - निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा फोटोसहितको मतदाता नामावली संकलनको तयारी गरिएको छ । चैतमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पहिलो चरणमा १७ मंसिरदेखि २६ मंसिर र दोस्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटोसहितको मतदाता नामावली संकलनको तयारी गरिएको हो ।
फोटोसहितको मतदाता नामावली संकलनका लागि जिल्ला निर्वाचन कार्यालयले आइतबार दिक्तेलमा मतदाता नामावली संकलन विशेष कार्यक्रम ०७८ को सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । निर्वाचन आयोगले निर्धारण गरेको कार्यक्रम तालिका अनुसार नै जिल्लामा ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने नारासहित मतदाता नामावली संकलनको तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका नासु लोकेन्द्रकुमार राईले बताए ।
जिल्ला प्रशासन कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र इलाका प्रशासन कार्यालय रहेको खोटेहाङ गाउँपालिकामा भने त्यहीबाट नियमितरुपमा फोटोसहितको मतदाता नामावली संकलन भइरहेको अवस्थामा अन्य पालिकाको हकमा मतदाता नामावली संकलन कार्यतालिका बनाइएको हो ।
१७ मंसिरदेखि २६ मंसिरसम्म केपिलासगढी गाउँपालिका, रावावेंसी गाउँपालिका, साकेला गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको केन्द्रमा पुगेर फोटोसहितको मतदाता नामावली संकलनको काम गरिने छ । यस्तै, २९ मंसिरदेखि ९ पुससम्म ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा मतदाता नामावली संकलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
फोटोसहितको मतदाता नामावली संकलनका लागि प्रत्येक पालिकामा २र२ जना कर्मचारी खटाइने छ । मतदाता नामावली संकलनका लागि १३ र १४ मंसिरमा कर्मचारी छनौट गरिने नासु राईले बताए । मतदाता नामावली दर्ताका लागि १८ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपिसहित तोकिएको स्थानमा पुग्नुपर्ने छ । तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालयमा पुगेर फोटोसहितको मतदाता नामावली दर्ता गर्न सक्ने जनाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ र प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले मतदाता नामावली संकलनलाई सफल बनाउन दललाई आग्रह गरेका छन् ।
स्थानीय तह निर्वाचन ऐनअनुसार ०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गरिसक्नुपर्ने हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठमा सकिँदै छ । यस अनुसार आगामी चैतअघि नै निर्वाचन गरिसक्नुपर्ने हुनाले जिल्लामा मतदाता नामावली संकलनको तयारी थालिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया