अमरेश सिंह र विरेन्द्र सिंह समूहबीच झडप
सर्लाहीमा कांग्रेस अधिवेशनमा झडप : निर्वाचन अधिकृतको टाउकोमा चोट, प्रहरी निरीक्षकको हात भाँचियो
जनकपुरधाम - सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा गोली चलेको एक दिन नबित्दै फेरि सोही पालिकाको अर्को वडामा कार्यकर्ताबीच झडप भएको छ । सर्लाहीको निर्वाचन क्षेत्र ४ बलरा नगरपालिका ८ मा भएको झडपमा निर्वाचन अधिकृत उमेश मिश्रा र ७ जना प्रहरी सहित १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंकाअनुसार झडपमा घाइते भएका निर्वाचन अधिकृत र प्रहरी निरीक्षकको मलंगवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको उनको भनाइ छ ।
कार्यकर्ताले मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण गरेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । सोही क्रममा विवाद हुँदा झडप भएको हो । झडपमा प्रहरीसहित कार्यकर्ताहरु घाइते भएको जिल्ला सभापति नागेन्द्र यादवले जानकारी दिए । उनका अनुसार निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने इन्सपेक्टरको हात भाँचिएको छ ।
घाइते हुने प्रहरीहरूमा इन्सपेक्टर सुरेश ठाकुर, सई अरुण कुमार यादव, हवलदार अवधेशप्रसाद यादव, महेशप्रसाद यादव र प्रहरी जवानहरू मेआज आलम, रामानन्द यादव, अजय साह रहेको प्रवक्ता प्रसाईंले जानकारी दिए ।
प्रतिनिधि सभा सदस्य अमरेश सिंह र प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री विरेन्द्र सिंह पक्षबीच झडप भएको हो । सिंह पक्षधरले मतदान अधिकृतलाई कुटपिट गर्न थालेपछि प्रहरीले उनको सुरक्षा गर्न खोज्दा स्थानीय कार्यकर्ता र प्रहरी बीच झडप भएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया