कांग्रेसबाहेक कसैले मुलुकको नेतृत्व गर्न सक्दैन : बालकृष्ण खाण
बुटवल – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाणले कांग्रेसबाहेक कसैले मुलुकको नेतृत्व गर्न नसक्ने दाबी गरेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशनको बिहीबार भैरहवामा उद्घाटन गर्दै खाणले यस्तो बताएका हुन् ।
उनले मुलुकको शान्ति सुव्यवस्था कायम गर्ने कुरामा सरकारले कुनै कसर बाँकी नराखेको पनि बताए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पुराना पुस्ताबाट पार्टी नचल्ने बताए । पुराना नेता म्याद सकिएको औषधिजस्तै भएकाले अब पुरानाबाट पार्टी चल्न नसक्ने उनको भनाइ छ ।
कांग्रेसको लुम्बिनी प्रदेश सभापतिका लागि शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने छ । नयाँ नेतृत्वका लागि दुई पक्षबीच चुनावी भिडन्त हुने भएको छ । सभापतिका लागि संस्थापन र संस्थापनइतर समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । लुम्बिनी प्रदेशका जिल्ला अधिवेशनमा भने पौडेल पक्षले अधिकांश सभापति जितेको छ ।
नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा र रुकुम पूर्वमा पौडेल पक्षले सभापति जितेको हो ।रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको छ । बाँकेमा अझै अधिवेशन भएको छैन । कांग्रेसको लुम्बिनी प्रदेश सभापतिका लागि प्रतिनिधिसभाका सांसद समेत रहेका भरतकुमार शाह र संविधानसभा सदस्य अमर पुनले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । संसद्को सार्वजनिक लेखा समितिका सभापति रहेका शाह देउवा पक्षबाट र पुन रामचन्द्र पौडेल पक्षबाट सभापतिमा उम्मेदवारी दिन लागेका हुन् ।
प्रदेशको महामन्त्री पदमा भने भुवन श्रेष्ठ र विष्णु मुस्कानले उम्मेदवारी दिने तयारी गरेका छन् । श्रेष्ठ गुल्मी कांग्रेसका निवर्तमान सभापति हुन् भने मुस्कान अर्घाखाँचीका निवर्तमान सभापति हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया