राजनीति

कांग्रेस प्रदेश २ : देउवा र निधि पक्षबाट सभापतिमा ३ उम्मेदवार

सुभाष कर्ण |
मंसिर १७, २०७८ शुक्रबार १७:१५ बजे

जनकपुरधाम - नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश २ को सभापतिका लागि तीन जना उम्मेदबार देखिएका छन् । तर औपचारिक रूपमा दुई जनाले मात्रै घोषणा गरेका छन् । सभापति देउवा पक्षबाट रौतहटका सभापति कृष्णा यादव र सप्तरीका सभापति दिनेश यादवसहित दुई जना र उपसभापति निधि पक्षबाट प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव गरी तीन जनाले आ-आफ्नो उम्मेदबारी घोषणा गरेका हुन् ।

देउवा पक्षका कृष्णा यादवले शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गरी उम्मेदबारी घोषणा गरेका छन् भने निधिपक्षका रामसरोज यादव दुई साताअघि नै पत्रकार सम्मेलनबाट नै आफ्नो उम्मेदबारी घोषणा गरिसकेका छन् । देउवा पक्षकै दिनेश यादवले आफ्नो पनि उम्मेदबारी रहेको इकागजलाई जानकारी दिए । 


यसअघिसम्म महोत्तरीका सभापति महेन्द्र रायसहित चार जना आकांक्षी थिए । राय निधि पक्षबाट भए पनि पक्ष परिवर्तन गरी देउवा पक्षका कृष्णा यादवलाई सोही पत्रकार सम्मेलनबाट समर्थन जनाएका छन् ।

निर्वाचन संयोजक रमेश रिजालले देउवा पक्षबाट कृष्णा यादव प्रदेश २ बाट सभापतिको उम्मेदबार रहेको पत्रकार सम्मेलनमा घोषणा गरेका छन् । ‘देउवा पक्षका कृष्णा यादवलाई यसअघिसम्म आकांक्षी रहेका महोत्तरीका महेन्द्र राय र सप्तरीका दिनेश यादवले समर्थन जनाइसकेकोले सर्वसम्मतिबाट पदाधिकारी चयन गरिनेछ,’ उनले भने, ‘हामी निधि पक्ष, कोइराला पक्ष र पौडेल पक्षसँग पनि कुरा गरेर सर्वसम्मतिमै जाने प्रयास गर्छाैं, सहमति जुट्न नसकेपछि निर्वाचनमा जाने अवस्था भए प्यानलसहित घोषणा गर्नेछौं ।’

रिजालले सप्तरीका दिनेश यादवको समर्थन रहेको जनाए पनि दिनेश यादवले भने आफूले कसैलाई पनि समर्थन नजनाएको बताए । 'आफ्नो उम्मेदबारी सँगठनलाई थप सुदृढीकरण र आगामी निर्वाचनमा प्रदेश २ बाट तीनवटै तहमा बढीभन्दा बढी उम्मेदबार जिताउनका लागि रहेको छ,'  पत्रकार सम्मेलनमा कृष्णा यादवले भने । सो पत्रकार सम्मेलनबाटै महोत्तरीका रायले आफ्नो समर्थन यादवलाई रहेको जनाएका थिए ।

यस्ता छन् उम्मेदबार

प्रदेश २ सभापतिका लागि दाबी गरेका तीनवटै उम्मेदबार कोही कसैसँग कम छैनन सबैले राम्रो अनुभव बुटलेका नेता हुन् । तीनै जना दुई दुई कार्यकाल जिल्ला सभापति रहेका छन्  ।

निधि पक्षका रामसरोज यादव दुई कार्यकाल जिल्ला सभापतिसहित संविधान सभा सदस्य र हाल पार्टी संसदीय दलका नेताको हिसाबले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री हुन् । उनी ०२९ साल विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा संलग्न छन् । धनुषामा १ सय ४३ वटा सक्रिय सदस्य रहेका बेला सचिव भएर काम गरिसकेका छन् भने ०४९ सालमा जिल्ला विकास समितिको सभापति समेत रहिसकेका छन् ।

उनले उम्मेदबारी घोषणा गर्दै आफू पार्टीको सभापति भए प्रदेश २ मा कांग्रेसलाई पहिलो नम्बरको दल बनाउनुका साथै पार्टीको ८ कठ्ठा ९ धुर रहेको जग्गामा सुविधा सम्पन्न प्रदेश भवन बनाउने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।  

०४२ सालबाट नेपाल विद्याथी संघबाट नेपाली कांग्रेसमा लागेका हुन् । उनी ०५६ सालदेखि महासमिति सदस्यको रूपमा काम गरेका छन् भने ०६४ सालमा संविधान सभा सदस्यमा निर्वाचित भएका हुन् । ०६७ सालदेखि दुई कार्यकाल अहिलेसम्म रौतहट जिल्ला सभापतिको रूपमा काम गर्दै आएका छन् ।

अर्का आकांक्षी ०३६ सालको जनमत सँग्रहदेखि विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका व्यक्ति हुन् । उनी नेवि संघका सभापतिदेखि ०४९ सालमा केन्द्रीय सदस्य, ०५४ मा पुर्वाञ्चल क्षेत्रीय सभापति र चार कार्यकाल जिल्ला सभापति भएका हुन् । कोइराला पक्षबाट देउवा पक्ष अलग हुँदा उनी पहिलोपटक देउवा पक्षबाट सभापति बनेका थिए । त्यसता दुई पटक संयुक्त पक्षका सभापति र वर्तमान जिल्ला सभापति पनि हुन् । अन्य उम्मेदबारभन्दा उमेरको हिसाबले ज्येष्ठ हुन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x