राजनीति

एमाले वैचारिक कार्यदिशामा हिँडेन : नारायणकाजी श्रेष्ठ

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १९:२२ बजे

महोत्तरी -  नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमाले वैचारिक कार्यदिशामा नहिँडेको आरोप लगाएका छन् ।माओवादी केन्द्र महोत्तरीको प्रथम नगरसम्मेलनलाई शुक्रबार बर्दिबासमा उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले केपी शर्मा ओली कम्युनिस्ट विचारधारा र कार्यदिशाबाट विचलित भएको तर्क गरे । प्रधानमन्त्री बन्नकै लागि ओलीले प्रतिगमन र विसर्जनवादलाई अँगालेको उनले बताए । समाजवादी क्रान्तिबाट नै सुखी नेपालको परिकल्पना गर्न  सकिने र यसको लागि कम्युनिस्टहरूले सत्ताको नेतृत्व गर्नुपर्ने उनको जिकिर छ ।


क्रान्तिकारी पक्षधरहरूसँग नै कम्युनिस्टहरूले सहकार्य र कार्यगत एकता गर्नुपर्ने उल्लेख गर्दै नेता श्रेष्ठले वैचारिक, कार्यगत र रणनीतिसहितको मोर्चा बन्दी गर्दै पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिए । माओवादी केन्द्र कहिल्यै पद र सत्ताको लोभ नगर्ने र जनमुखी कार्यहरूमा सहकार्य गर्दै आएको पनि उनको भनाइ छ । नेता श्रेष्ठले पदभन्दा पनि विचारमाथि हुनुपर्ने बताए । ‘केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नकै लागि एकता गरे अनि सहमतिलाई पनि तोडे,’ उनले भने ।

समाजवादी क्रान्तिलाई स्थापित गराउन कम्युनिस्टहरूको लागि अपूर्व अवसर आएको र त्यसलाई वैचारिक कार्यदिशामा मतभेद र सत्तालुप्साकै कारण सुरक्षित गर्न नसकिएको पनि नेता श्रेष्ठले दाबी गरे ।


Author

थप समाचार
x