राजनीति

बलजफ्ती प्रमाण पत्र लिएको भन्दै निर्वाचन अधिकृतले दिए राजीनामा

सुभाष कर्ण |
मंसिर १८, २०७८ शनिबार १४:३६ बजे

जनकपुरधाम - आफूलाई बन्धक बनाई बलजफ्ती प्रमाण पत्र लिएको भन्दै महोत्तरी क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । शनिबार जिल्ला निर्वाचन अधिकृतको नाममा पत्र लेख्दै क्षेत्रीय निर्वाचन अधिकृत वीरेन्द्र मण्डलले स्थगित गरिएका निर्वाचनलाई सदर गर्न आफूलाई घरबाट अपहरण शैलीमा लगेर प्रमाण पत्र लिएकोले सो प्रमाण पत्र रद्दको माग गर्दै राजीनामा दिएको जनाएका छन् ।

सो पत्रमा  निर्वाचन अधिकृत मण्डलले मंसिर १५ गतेका दिन विवादले गर्दा बन्दसत्र स्थगित भएको अवस्थामा त्यसको भोलिपल्ट शुक्रबार बिहान साढे ६ बजेतिर आफूलाई केही अपरिचित व्यक्तिले अपहरण शैलीमा लगी निर्वाचनको कुनै प्रक्रिया नअपनाई बलजफ्ती प्रमाण पत्र लिएको भनेका छन् ।


गत मंसिर १५ गते सहमति मार्फत क्षेत्रीय अधिवेशनको उद्घाटन सत्र भएपनि बन्द सत्रमा सहमति जुट्न नसक्दा विवाद भई हो हल्ला हुँदा बन्द सत्र स्थगित गरिएको थियो । सो क्षेत्रमा बन्द सत्रको क्रममा गत बुधबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच झडपसमेत भएको थियो ।

महोत्तरी-३ बाट मनोज झा, राघवेन्द्र झा र रामु यादव सभापतिका आकांक्षी छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधिनिकट हुन भने भने राघवेन्द्र रामचन्द्र पौडेलनिकट हुन् । महोत्तरीको बाँकी ३ वटा क्षेत्रमा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भइसकेको छ । क्षेत्र नम्बर-१ मा महेश झा, क्षेत्र नम्बर-२ मा राजकरण साह र क्षेत्र नम्बर-४ मा उत्तिम यादव सर्वसम्मत चयन भइसकेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x