राजनीति

प्रेसलाई अंकुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

इकागज |
मंसिर १८, २०७८ शनिबार १७:४३ बजे

चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रेसलाई अंकुश लगाउने ऐन खारेज गरिने बताएका छन् । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको शनिबार चितवनमा उद्घाटन गर्दै उनले लोकतन्त्रको सुदृढीकरणका निम्ति प्रेस स्वतन्त्रता आवश्यक रहेको बताएका हुन् ।

‘विगतको सरकारले जे-जस्ता ऐन बनाएर कहीं न कहीं प्रेस जगतलाई अंकुश लगाउने जे-जस्ता ऐन बनेका छन् तिनलाई खारेज गरिने छ, यो हुन दिइने छैन,’ उनले भने । यस विषयमा पाँच दलीय गठबन्धनमा छलफल भइरहेको जानकारी दिए ।


‘प्रेस जगतलाई अंकुश लगाउन दिइने छैन । प्रेस जति बलियो हुन्छ, जति पत्रकार जिम्मेवार र संगठित हुन्छन्, त्यति नै लोकतन्त्र सुदृढ हुँदै जान्छ र समाजवादको आधार तयार हुन्छ,’ उनले भने । उनले अहिले पनि प्रतिक्रान्तिकारी र प्रतिगमनकारी सलबलाइराखेका बताए । ‘गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि, प्रेसलाई कमजोर पार्न सकिन्छ कि, प्रेसमार्फत भ्रम छर्न सकिन्छ कि भनेर त्यो षड्यन्त्र अझै पनि जारी छ,’ उनले भने ।

‘प्रचण्डलाई मन पर्नेले पनि चितवन रोज्ने भए, नपर्नेले पनि चितवन रोज्ने भए, मन परेर आउनेलाई पनि धन्यवाद मन नपरेर आउनेलाई पनि धन्यवाद,’ राजनीतिक रूपमा चितवन परिचित बन्दै गएको जनाउँदै उनले भने । देशका सबै कम्युनिष्टबीचको एकता अझै पनि आवश्यक रहेको दाहालको भनाइ छ । सच्चा र इमान्दार कम्युनिष्ट एकताबद्ध हुनुपर्ने उनले बताए ।


Author

थप समाचार
x