एकीकृत समाजवादी बैतडीका छ पालिकामा नेतृत्व चयन
बैतडी - नेकपा एकीकृत समाजवादीले बैतडीमा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गर्ने अभियानअन्तर्गत हालसम्म छ स्थानीय तहमा कमिटी गठन गरिएको पार्टीका जिल्ला अध्यक्ष महादेव भट्टले बताए । हालसम्म दोगडाकेदार, सुर्नया गाउँपालिका तथा पाटन, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिसकिएको जनाइएको छ ।
पाटनको अध्यक्षमा लोकेन्द्र विष्टसहित ५५ सदस्यीय, दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१ र मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो ।
गठन गरिएका सबै पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि मंसिरभित्र नेतृत्व चयन गरिने सो पार्टीले जनाएको छ । एमालेसँग विभाजन भएपछि सो पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको छ ।
तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने जनाइएको छ । मंसिरमा सबै पालिकामा संगठन विस्तार गरिने र त्यसपछि संगठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष दिनेश ठगुन्नाले बताए । एमाले रहँदा यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित गरिएको थियो । जिल्ला अध्यक्ष भट्ट रहेको १ सय ५१ सदस्यीय समानान्तर कमिटी समाजवादीमा समाहित गरिएको हो । -रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया