राजनीति

असमानता हटेमात्र मुलुक समृद्ध बन्छ : उपेन्द्र यादव

इकागज |
मंसिर १९, २०७८ आइतबार १८:५९ बजे

बर्दिबास - जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् । महोत्तरीको बर्दिबासमा आइतबार आयोजित 'दलित समुदायको वर्तमान अवस्था : समस्या र समाधान विषयक कार्यशाला गोष्ठी'काे उद्घाटन गर्दै अध्यक्ष यादवले जातीय भेदभाव, असमानता र विभेद समृद्धिको बाधक रहेकोले यस्ताे विभेद हटेमात्र मुलुक समृद्ध बन्ने बताए ।

अध्यक्ष यादवले दलित समुदाय भूमिहीन, आर्थिकरुपमा कमजोर रहेकाले यस्तै अवस्था कायम रहे मुलुक समृद्ध बन्ननसक्ने तर्क गरे । दलित समुदायको पेशा, कला, संस्कृति उजागर भए दलित समुदाय स्वतःसमृद्ध हुने र यसबाट अधिकांश समस्या समाधान भएर जाने बताउँदै अध्यक्ष यादवले त्यसतर्फ राज्यको ध्यान पुग्नुपर्ने बताए ।


वैदेशिक संस्कृति अपनाइरहेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने दाबी गर्नुहुँदै अध्यक्ष यादवले यहाँका कला र संस्कृति जोगाउनु सबैको दायित्व रहेको बताए । सामाजिक विकास मन्त्रालय, दलित विकास समिति र इनोभेटिभ रिसर्च एन्ड डेभलपमेन्टको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, राष्ट्रिय योजना आयोगका डा. उमाशंकर प्रसाद, प्रदेश लोकसेवा आयोगका सुरेन्द्र यादव, दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठालगायतले बोलेका छन् । दुई दिनसम्म चल्ने गोष्ठीमा प्रदेश-२ का दलित समुदायको अगुवाको सहभागिता रहेको इनोभेटिभ रिसर्च एण्ड डेभलपमेन्टका विनोदकुमार विश्वकर्माले जानकारी दिए ।


Author

थप समाचार
x