दलित मुक्तिका लागि सामाजिक-राजनीतिक प्रणाली परिवर्तन आवश्यक : उपेन्द्र यादव
जनकपुर - जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सामाजिक र राजनीतिक प्रणालीको परिवर्तनबिना दलित समुदायको मुक्ति सम्भव नभएको बताएका छन् । महोत्तरीको बर्दिवासमा आयोजित ‘दलित समुदायको वर्तमान अवस्था ः समस्या र समाधान’ विषयक कार्यशाला गोष्ठीमा सोमबार सहजीकरण गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
दलित समुदायको मुक्तिको बाधक मुलुकको विद्यमान सामाजिक र राजनीतिक प्रणाली रहेकाले यसको परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । ‘विद्यमान सामाजिक र राजनीतिक प्रणालीले दलित, उत्पीडित तथा अल्पसंख्यक समुदायको उत्थान र विकास सम्भव देखिँदैन,’ अध्यक्ष यादवले भने, ‘दलित समुदायसँगै सिंगो मुलुक नै बाधक रहेको अहिलेको सामाजिक र राजनीतिक प्रणाली हो, त्यसैले यसमा परिवर्तन आवश्यक छ ।’
बढ्दो पूँजीवादी व्यवस्थाका कारण निर्वाचन अत्यन्तै महँगो बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष यादवले यस्तै अवस्था रहिरहे मुलुकको राजनीतिलाई पुँजीवादले धराशायी बनाउने बताए । राज्यमा सम्मानजनक प्रतिनिधित्वका लागि दलित र महिलाका लागि छुट्टै निर्वाचन क्षेत्र बनाउनुपर्ने उल्लेख गर्दै उनले यस्तो गर्न सकिएमात्र दलित र महिलाको राज्यमा बलियो उपस्थिति हुन सक्ने जिकिर गरे ।
विकास र समृद्धिको बाधक जातीय भेदभाव, असमानता र विभेद रहेकाले मुलुकलाई समृद्ध बनाउन भेदभाव तथा असमानताको अन्त्य हुनुपर्ने चर्चा गर्दै उनले दलित समुदाय भूमिहीन र आर्थिक रूपमा कमजोर रहेकाले यस्तै अवस्था कायम रहे मुलुक समृद्ध बन्न नसक्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया