राजनीति

पार्टी एकताका लागि राप्रपाले समिति गठन गर्ने

इकागज |
मंसिर २२, २०७८ बुधबार १८:५७ बजे

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी एकताका लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौंमा एकता महाधिवेशनपछि बसेको राप्रपाको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । ‘समान विचारधारा भएका राजनीतिक दल, व्यक्ति वा धार्मिक संघ संस्थासँग एकता र सहकार्य गर्न महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरिएको छ,’ अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै महामन्त्री भुवन पाठकको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।


यस्तै पार्टीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको मर्यादाक्रम निर्धारणका लागि उपाध्यक्ष ध्रूवबहादुर प्रधानको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति गठन गर्ने निर्णय भएको अध्यक्ष लिङ्देनले बताए । बैठकले पार्टीका सवै भातृ संगठनलाई ३ महिनाभित्र महाधिवेशन गर्ने कार्यतालिका पेश गर्न पनि निर्देशन दिएको पनि उनले जानकारी दिए । 

बैठकमा अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्यलाई आवश्यक जिम्मेवारी दिइने भन्दै काम नगर्ने सदस्यलाई पार्टीभित्र कुनै ठाँउ नरहेको बताएको लिङ्देनलाई उद्धृत गर्दै एक सदस्यले बताए ।


Author

थप समाचार
x