राजनीति

शेखर र प्रकाशमानलाई रामचन्द्रको जवाफ : म राजनीति छोड्छु

इकागज |
मंसिर २२, २०७८ बुधबार १९:८ बजे

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट पार्टीको १४औँ महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न नेताहरु नमानेपछि आफू राजनीति छोडेर घरै बस्ने चेतावनी दिएका छ्न् ।  

सभापतिकै आकांक्षी प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा नेताहरु टसमस नभएपछि पौडेलले भने यस्तो बताएको नेता रामशरण महतले जानकारी दिए । 


‘प्रकाशमान आफैं लड्छु भन्ने, शेखर कोइराला पनि आफैँ लड्ने कोही छोड्न मान्दैनन् । उता रामचन्द्र पौडेल यी दुई लडे भने म पार्टीबाटै बिदा हुन्छु । घरै बस्छु, राजनीतिबाटै सन्यास लिने खालको कुरा गरिरहेका छन्,’ महतले भने, ‘अहिलेको अवस्था हेर्दा मिल्ने नेताहरु मिल्ने देखिएन ।’  

यो समूहमा पौडेल र शशांक कोइरालाले भने सहमतिका लागि आफू अडान छोड्न तयार रहेको बताइसकेका छन् ।  पौडेल समूहको बैठक हिजो पनि चाक्सीबारीमै बसेको थियो । त्यस्तै बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफल भएको थियो ।  त्यहाँ पनि नेताहरुले साझा उम्मेदवार चयन गर्न दबाब दिएका थिए ।    
 


Author

थप समाचार
x