राजनीति

माओवादी केन्द्र कञ्चनपुरको सात स्थानीय तहमा नयाँ नेतृत्व चयन

इकागज |
मंसिर २२, २०७८ बुधबार १९:१९ बजे

कञ्चनपुर - नेकपा माओवादी केन्द्रले कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले शुक्लाफाँटा र दोधारा–चाँदनी नगरपालिकाबाहेक बेदकोट, कृष्णपुर, भीमदत्त, पुनर्बास, बेलौरी नगरपालिकासँगै लालझाडी र बेलडाँडी गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।
 
नगर र गाउँ सम्मेलनको आयोजना गरी सर्वसम्मतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको पार्टीका जिल्ला समिति सदस्य एवम् युथ कम्युनिष्ट लिग (वाइसिएल)का सुदूरपश्चिम सहसंयोजक अर्जुन साउदले बताए । उनकाअनुसार वेदकोट नगरपालिकामा लाल परियारको अध्यक्षतामा ५७ सदस्यीय नगर समिति चयन गरिएको छ । बेलडाँडी गाउँपालिकामा डम्बर शाहको अध्यक्षतामा ५५ सदस्यीय गाउँ समिति चयन गरिएको छ ।
 
पुनर्बास नगरपालिकामा धोखे रानाको अध्यक्षतामा ६५ सदस्यीय नगर समिति चयन गरिएको जिल्ला समिति सदस्य साउदले जानकारी दिए । भीमदत्त नगरपालिकामा अशोक चन्दको अध्यक्षतामा ६५ सदस्यीय, कृष्णपुर नगरपालिकामा जोगराज चौधरीको अध्यक्षतामा ६५ सदस्यीय, लालझाडी गाउँपालिकामा फुलाराम चौधरीको अध्यक्षतामा ४९ सदस्यीय कमिटी गठन गरिएको छ ।
 
‘दोधारा–चाँदनी नगरपालिकामा मङ्गलबार नयाँ नेतृत्व चयनका लागि सम्मेलनको आयोजना भएको हो,’ जिल्ला समिति सदस्य साउदले भने, ‘बुधबारसम्म नयाँ नेतृत्व चयन भइसक्छ । शुक्लाफाँटा नगरपालिकामा नयाँ नेतृत्वका लागि आकांक्षी धेरै भएकाले सहमतिका आधारमा नेतृत्व चयनका लागि प्रयास भइरहेको छ ।’  

माओवादी केन्द्रले सम्मेलनको आयोजना गरी नगरपालिका र गाउँपालिमा चयन गरेको नयाँ नेतृत्वमा सबै जना युवा रहेका छन् । पार्टीका नेता टेकेन्द्र भट्टकाअनुसार सम्मेलनबाट समावेशीताका आधारमा नयाँ नेतृत्व चयन गरिएको छ ।



Author

थप समाचार
x