राजनीति

भोलि एउटै मञ्‍चमा देखिएलान् ओली, प्रचण्ड र माधव नेपाल ?

अतिन आचार्य |
मंसिर २३, २०७८ बिहीबार १८:३८ बजे

काठमाडौँ- मुलुक मङसिरदेखि  राजनीतिक दलहरूको महाधिवेशनमय भएको छ । गत १० देखि १४ गते चितवनमा संसदमा प्रतिनिधित्‍व गरेको सबैभन्दा ठूलो दल नेकपा एमालेको १० औं महाधिवेशन सम्पन्न गर्‍यो । 

एमालेको महाधिवेशन सकिएको केही दिनमै राष्‍ट्रिय प्रजातन्त्र पार्टीको पनि महाधिवेशन सम्पन्न भइसकेको छ । राप्रपाले महाधिवेशनकाे नतिजाले राष्ट्रीय राजनीति कम तरंगित भएपनि उक्त दलभित्र ठूलै उतारचढाव आइरहेकाे छ ।


सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोलिदेखि (शुक्रबार ) राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनमा कांग्रेसले संसदमा प्रतिनिधित्त्व गरिरहेका सम्पूर्ण राजनीति दलका प्रमुखलाई निम्ता गरिसकेको छ । विदेशी राजनीतिक दलका प्रतिनिधिहरूको समेत कार्यक्रममा उपस्थित हुने भएको छ ।

भारतबाट  भारतीय जनता पार्टी, कांग्रेस आईका प्रतिनिधि र चिनियाँ कम्युनिष्‍ट पार्टीका प्रतिनिधि आउने महाधिवेशन प्रचार-प्रसार समितिले जनाएको छ । सबैभन्दा रोचक पक्ष भोलिको महाधिवेशनमा पछिल्लो समय एक-अर्काको अनुहार हेर्न नचाहने राजनीतिका मुख्य प्रतिस्पर्धीहरू एउटै मञ्चमा देखिने सम्भावना छ ।

चितवनमा सम्पन्‍न एमालेको महाधिवेशनमा उक्त पार्टीले माधव नेपालबाहेक मुख्य-मुख्य राजनीति दलका सबैलाई निम्तो गरेको थियो । तर, एमालेको महाधिवेशनमा भने सत्ता गठबन्धनका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव मात्र पुगेका थिए ।

एमालेले माधव नेपालको नेकपा समाजवादी पार्टीलाई पार्टीको मान्यता नदिएर निम्तो समेत दिएन । तर,  नेकपा माओवादी केन्द्रलाई भने निम्तो पठायो । उक्त कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल नगएर पार्टीले उपाध्यक्षा लिलामणि पोख्रेललाई पठाएको थियो । 

पछिल्लो केही महिनादेखि पुष्पकमल दाहाल, माधव नेपाल र केपी शर्मा ओली यी तिनै अनुहारहरू एकै मञ्चमा देखिएका छैनन् । कुनै दिन एउटै मञ्च र बैठकमा बस्‍ने यी नेताहरूबीच अहिले बाेलचाल बन्द र पानी बाराबारकाे स्थिति छ । 

कांग्रेसको महाधिवेशनमा यी तिनै अनुहारहरू मञ्चमा उक्लन्छन त ? यदि मञ्चमा यी तीन नेता उक्ले भने यिनिहरूको हाउभाउ कस्तो हुनेछ  महाधिवेशनको सबैभन्दा रोचक पक्ष तिनै नेताहरू बन्ने लगभग पक्का छ ।

महाधिवेशनको प्रचार-प्रसारको मिडिया संयोजक डा. सुरेश आचार्यका अनुसार संसदमा प्रतिनिधित्व गरेका सम्पूर्ण दललाई महाधिवेशनका विशेष अतिथिका लागि निम्तो दिएको छ ।

'एमाले, माओवादी, नेकपा समाजवादी, जसपा र अन्य सम्पूर्ण दलका मुख्य-मुख्य प्रतिनिधिलाई बोलाइएको छ,' आचार्यले भने,' सबै दलका प्रमुखहरू आएमा एउटै मञ्‍चमा देखिन पाइने छ । महाधिवेशनको माहोल रोचक हुने विश्‍वास लिएका छौ ।'

आचार्यले विदेशी पाहुनाहरूलाई समेत निम्तो दिएको बताए । केही मुलुकका पाहुनाहरूले भर्चुअल माध्यमबाट सम्बोधन र शुभकामना सन्देश दिने उनले जानकारी दिए ।

त्यसैगरी नेकपा एमालेका सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष केपी शर्मा ओली भाेलिको कांग्रेसको महाधिवेशन उद्‍घाटनमा जाने कार्यक्रम छ । अध्यक्ष केपी शर्मा ओलीको भोलिको स्वास्थ्य अवस्था कस्तो हुन्छ त्यसले पनि निर्धारण गर्ने उनले बताए । 'अहिलेसम्म महाधिवेशनमा विशेष अतिथि भएर जाने निश्‍चित जस्तै छ,' तामाङ्ले भने ।

एमाले अध्यक्ष केपी  शर्मा ओलीले राप्रपाकाे महाधिवेशनमा शुभकामना दिन वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेललाई पठाएका थिए । त्यहाँ माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने  स्वयं उपस्थित थिए । सत्तारुढ गठबन्धनका साझेदार रहेकाले नेपाल र दाहाल भने कांग्रेसकाे महाधिवेशन उद्घाटनमा शुभकामनाका लागि स्वयं उपस्थित हुने बुझिएको छ । 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x