राजनीति

नेपालमा विदेशी शक्तिले अराजकता फैलाउन खोजेः अध्यक्ष ओली

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १५:१६ बजे

काठमाडौँ- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका छन् । 

शुक्रवार नेकपा(एमाले) बागमती प्रदेश संगठन कमिटीले काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विदेशी शक्तिले नेपालमा नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका हुन् । 


नेपालमा कुटनीतिक क्षेत्रमा काम गरेर फर्किएको एक कुटनीतिज्ञले लेखेको पुस्तकले सो कुरा स्पष्ट पारेको उनले उल्लेख गरे । नेपालमा अराजकता भित्रिन नदिने एमाले भएकाले पुस्तकमा एमाले र आफूविरुद्ध लेखिएको पनि उनले बताए । 

अध्यक्ष ओलीले नेपालमा विदेशीको हातको नियन्त्रित अराजकता र अस्थिरता पस्न नदिने र पसिहालेमा पराजित गर्ने बताए । 

अध्यक्ष ओलीले राजनीतिक पार्टीले नै राष्ट्रियता र राष्ट्रिय एकता जोगाउने उल्लेख गर्दै त्यसका लागि स्पष्ट राष्ट्रिय दृष्टिकोण हुनुपर्ने बताए । 

एमालेको ‘समृद्ध नेपाल, सुखि नेपाली’ को स्पष्ट दृष्टिकोण भएको उनको भनाई छ । एमालेको दृष्टिकोणलाई संशोधन गरेर ‘समुन्नत नेपाल ः सम्मानित नेपाली’ बनाइएको उनले टिप्पणी गरे । नेपाली कांग्रेसका युवा नेता तथा १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका गगन थापाले ‘समुन्नत नेपाल ः सम्मानित नेपाली’ को नारा अघि सारेका थिए । ओलीले सोही नाराप्रति टिप्पणी गरेका हुन् । 

उनले भने, ‘आजकाल अलिअलि सुन्न थालिया छ, हामीले समृद्ध नेपाल सुखि नेपाली भन्यौँ । अहिले त्यसबाट अलिअलि यताउता पार्न खोज्या, समुन्नत नेपाल सम्मानित नेपाली पो हुनुपर्छ भन्ने यताउता त्यसमा संशोधन गरेर चिन्तकहरु निस्किन खोज्या देखिन्छ । राम्रो कुरा हो त्यो । तर पहिले यस्तै भएको थियो । आफ्नो गाउँ आफैँ बनाऔँ एउटा अभियान चलेको थियो । त्यसलाई अनेक खालका नामहरुमा त्यसलाई परिवर्तन गर्न खोजियो ।’

उनले अब बस्ने केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण काम गर्ने उल्लेख गरे । एमालेलाई आराम गर्ने फुर्सद नभएको भन्दै सक्रियतापूर्वक काममा लाग्न र पुरै देशलाई नै कामरेडमय बनाउन उनले नेताहरुलाई आग्रह गरे । 


Author

थप समाचार
x