राजनीति

प्रतिबन्धित चन्द समूहसहितको चार दलीय मोर्चाले अब के गर्छ ?

विनोद देवकोटा |
पुस १५, २०७७ बुधबार १९:५५ बजे

काठमाडौँ : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित खुला राजनीतिमा रहेका चार दलले संयुक्त मोर्चा निर्माण गरेका छन् । मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेकपा र विश्‍वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, नेपाल छन् । चार दलले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति उल्लेख गरेका छन् । 

पछिल्ला राजनीतिक घटनाक्रमप्रति ध्यानाकर्षण भएको जनाउँदै मोचाले वर्तमान समस्याको समाधान प्रतिनिधि सभा पुनर्स्थापना गरेर वा सरकार परिवर्तन गरेर नहुने निष्कर्ष निकालेको छ । यसका लागि संघीय गणतन्त्र वा चन्द समूहले भन्दै आएको वैज्ञानिक समाजवाद स्थापना हुनुपर्ने मोर्चाको ठहर छ । 


जसबारे अवधारणा, संरचना र आगामी कार्यक्रम शीघ्र घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ । संरचना निर्माण र संघर्षको कार्यक्रमका विषयमा चार दलबीच छलफल जारी रहेको वैज्ञानिक समाजवादी पार्टी, नेपालका संयोजक आहुति बताउँछन् । जनसंघर्षबाट आफूले चाहेको व्यवस्था स्थापना गर्ने योजनासहित दलहरूबीच रणनीतिक एकता भएको उनको भनाइ छ ।

मोर्चाको अबको कार्यदिशा 
राणनीतिक मोर्चामा रहेका चार दलमध्ये चन्द नेतृत्वको नेकपा(चन्द समूह) प्रतिबन्धित छ । उसले पछिल्लो समय भूमिगत रूपमा आफ्ना गतिविधि सञ्‍चालन गर्दै आएको छ । जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुनुपर्ने माग राख्दै संघर्षमा रहेको चन्द समूहसँग मोर्चाले कसरी संयुक्त संघर्ष गर्छ ? वैज्ञानिक समाजवादी पार्टी, नेपालका संयोजक आहुति भन्छन्, ‘हामीले गर्ने भनेको जनसंघर्ष नै हो । यो सडकबाटै हुन्छ ।’ 

संघर्ष के का लागि ? आहुति भन्छन्, ‘अहिलेको प्रतिगमन, संसदीय व्यवस्थाको चरित्र, राज्यले संसदीय व्यवस्थाअन्तर्गत गरेको दमन, यसले जनजीविकामा सिर्जना गरेको संकट र समस्याविरुध्द संघर्ष हुन्छ । संघीय गणतन्त्र/वैज्ञानिक समाजवाद स्थापनार्थ संघर्ष हुन्छ ।’

त्यसोभए संयुक्त मोर्चामा रहेको प्रतिबन्धित समूह कसरी सडक संघर्षमा आउँछ ? आहुति चन्द समूह पनि सडकमा आउने विश्‍वास व्यक्त गर्छन् । ‘उहाँहरू सडकमा आउनुहुन्छ, आउन पाउनुपर्छ । मेर्चामा बसेपछि आउनु परेन ? को-को आउनुहुन्छ र कति आउनुहुन्छ भन्‍ने अर्को कुरा हो । सरकारले कसरी दमन गर्छ । उहाँहरूसँग कस्तो व्यवहार गर्छ । यसमा भर पर्छ ।’

चन्द समूहमाथिको प्रतिबन्ध खारेज हुनुपर्ने उनको भनाइ छ । मोर्चाले पनि यो विषय उठाउने उनले बताए । 

जनसंघर्ष शसक्त बनाउन चार दलीय संयुक्त मोर्चा बनेको विप्लव समूहका एक जना केन्द्रीय सदस्य बताउँछन् । सरकारी प्रतिबन्ध चिरेर चार दलीय संयुक्त जनसंघर्षमा आफूहरू उत्रने उनले बताए । टेलिफोन सम्पर्कमा आएका उनले आफूहरू भूमिगत नरहेकोसमेत दाबी गरे । ‘हामी जनताको बीचमा छौं । जनतासँगै छौं । जनसंघर्षमै छौं’ उनले भने, ‘भूमिगत भन्‍ने सरकारी हौवा हो । हामीमाथि दमन गर्न रचिएको प्रपन्च हो ।’

संसदीय व्यवस्थाविरुध्द र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न मोर्चाले सशक्त संघर्ष गर्ने उनको भनाइ छ । जनसंघर्षबाटै आफूहरूले चाहेको व्यवस्था स्थापना गर्न सम्भव रहेको भन्दै उनले भने, ‘संघर्ष शृङ्खलाबध्द रूपमा हुने कुरा हो । हामी सुरुवात गर्छौ । यहाँ कति मान्छे आउँछन् ? संघर्ष कस्तो हुन्छ ? यो महत्वपूर्ण कुरा होइन । मुख्य कुरा त्यो दिशामा जनपरिचालन गर्ने भन्ने हो । नतिजा ढिलो चाँडो आउँछ ।’

चार दलबीच एकताको सम्भावना 
रणनीतिक संयुक्त मोर्चा निर्माण गरेका चार दलबीच पार्टी एकताको पनि सम्भावना रहेको आहुति बताउँछन् । संयुक्त रणनीतिक मोर्चा बनाउने भनेकै एकताको सम्भावना पनि खोज्‍ने भएको उनको भनाइ छ । ‘रणनीतिक संयुक्त मोर्चा बनाउने भनेको पार्टी एकताको सम्भावना पनि खोज्‍ने भनेको हो । तत्काल संयुक्त मोर्चा बनाएर साझा काम गर्दै जाऊ र एकताका विषयमा पनि छलफल गर्दै जाने भन्ने हो ।’ यस विषयमा पनि छलफल जारी रहेको उनले बताए ।

तर तत्कालै एकताको सम्भावना भने नरहेको उनको भनाइ छ । तत्काल एकताको सम्भावना नभएरै संयुक्त मोर्चा बनाउनु परेको उनले स्पष्ट पारे । ‘एकता गर्ने भनेको विचारमा एक ठाउँमा आउने हो । एकता तत्काल हुने देखिदैन । त्यसको निम्ति लामै छलफल गर्नुपर्ने अवस्था छ । अहिले संयुक्त मोर्चा बनाउनेसम्म टुंगिएको हो ।’

संयुक्त मोर्चाबीच पार्टी एकताका विषयमा विप्लव समूहका केन्द्रीय सदस्यले भने खुलेर प्रतिक्रिया जनाउन चाहेनन् । एकता गर्ने विषयमा छलफल भइरहेको भने उनले स्वीकार गरे । ‘केही कुरा मिलेर नै संयुक्त मोर्चा बन्‍ने हो । यहाँ एकताको सम्भावना रहने नै भयो । यसले मूर्त रूप लियो भने थाहा भइहाल्छ’ उनले भने ।


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x