राजनीति

माओवादी प्रदेश १ मा पनि चुनाव : मतदानदेखि मत परिणाम घोषणा आजै

बाबुराम भण्डारी |
पुस ७, २०७८ बुधबार १७:४५ बजे

विराटनगर - नेतृत्व व्यवस्थापनमा गरिएको सहमतिको प्रयास असफल भएपछि नेकपा माओवादी केन्द्रले प्रदेश १ को पदाधिकारी चयनको प्रक्रिया अन्ततः चुनावबाटै टुंग्याउन लागेको छ । पदाधिकारीमा सहमति नजुट्दा प्रदेश निर्वाचन समितिले आजै ७ बजे मतदान गरी ११ बजे मतपरिणाम घोषणा गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

मंसिर २४ र २५ गते मोरङको विराटचोकमा पहिलो प्रदेश अधिवेशन आयोजना गरिए पनि पदाधिकारीको चयन हुन सकेको थिएन । पदाधिकारी चयनको प्रक्रिया केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालले सहमतिबाटै टुंगो लगाउनु भन्दै हस्तक्षेप गरेपछि रोकिएको थियो । तर नेतृत्वबीच सहमतिको प्रयास भने असफल भएको छ । बुधबार अन्तिम छलफलपछि माओवादी प्रदेश १ का इन्चार्ज राम कार्कीले नेतृत्व चयनको प्रक्रियालाई चुनावबाट टुंगो लगाइने घोषणा गरेका हुन् ।


उनले पार्टीको प्रदेश कार्यालयमा उपस्थित भएका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अहिलेसम्म सहमतिको प्रयास भएपनि त्यसबाट निश्कर्ष ननिस्किएको भन्दै चुनावमा गएर स्वस्थ्य प्रतिस्पर्धा गर्न सकिने बताएका हुन् । कार्कीको करिब १५ मिनेटको निर्देशनपछि बैठक सकिएको थियो । निर्वाचन समितिका संयोजक राजेन्द्र किराँतीले चुनावका लागि सबै तयारी पुरा भएको बताएका छन् । 

विराटचोकमा प्रदेश अधिवेशनको बन्द शत्रबाट पदाधिकारी चयन नगरी विराटनगर फर्किएका माओवादी नेता कार्यकर्ताहरूले सहमति हुन नसक्दा चुनावबाटै नेतृत्व चयन गर्नुपर्नेमा विभिन्न बहाना बनाएर चुनाव रोकिएको भन्दै नेतृत्वको आलोचना गरेका थिए । माओवादीको प्रदेश १ मा ९ पदाधिकारीका लागि निर्वाचन हुनेछ । त्यसका लागि प्रदेश कमिटी सदस्यमा चयन भइसकेका २५९ जनाले मतदान गर्नेछन् । 

अध्यक्ष पदका लागि पाँचथरका हर्कबहादुर लावती (मिक्सो) र सुनसरीका मोक्साहाङ मेन्याङ्बो प्रमुख दाबेदार छन् । उपाध्यक्ष र सचिवसहितका अन्य पदहरूमा गरी तीन दर्जन बढि आकांक्षीले यसअघि नै विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गरेका थिए । समयमै नेतृत्व चयन गर्न नसकेको भन्दै आकांक्षीहरूले छिटो निर्वाचन गर्न माग गरेका थिए । 

त्यसैगरी सचिवमा धनकुटाका ऋषिराम ढुंगाना, ओखलढुंगाका मोहनकुमार खड्का, मोरङका गणेश उप्रेति मुख्य दाबेदार रहेका छन् । विराटनगरको भट्टाचोकस्थित माओवादी केन्द्रको प्रदेश पार्टी कार्यालयमा अहिले मनोनयन दर्ताको प्रक्रिया सुरु भएको जनाइएको छ । मा‌ओवादीले टिके प्रथा अन्त्य गर्दै बागमती प्रदेशको नेतृत्व चयन पनि चुनावी प्रक्रियाबाटै गरेको हो । 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x