प्रदेश २ काे नाम र राजधानी टुंगो लगाउन समिति गठन
जनकपुरधाम - प्रदेश २ को नाम र स्थायी राजधानीका टुंग्याउनका लागि समिति गठन गरिएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोज यादवको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो ।
प्रदेश सभा कार्यसञ्चालन पहिलो संशाेधन नियमावली २०७५ को नियम ७३(क) को उपनियम ९ र नियम ७३ (ख) को उपनियम ९ बमोजिम प्रदेशको नाम र राजधानीको प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समिति गठन गरिएकाे प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
समितिको उपसभापतिमा उपसभामुख उपमा देव रहेकी छन् । त्यस्तै सदस्यहरूमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह कमल, जगतप्रसाद यादव, दिलीपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, सत्रुधन महतो, शारदा देवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, संजयकुमार यादव, सावित्री देवी साह, शुन्दर बहादुर विश्वकर्मा र सुरीता साह छन् ।
समितिले प्रदेश सभामा नामाकरण र राजधानीका लागि पेस भएको प्रस्ताव अध्ययन तथा सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया गरी प्रदेश सभामा निर्णयार्थ पेस गर्ने विषय यकिन गरी प्रदेश सभामा पेस गर्न १५ दिनको समावधि दिइएको छ ।
समितिले आफ्नो कार्य सम्पादन गर्ने क्रममा प्रदेश सभा सदस्य तथा स्थानीय तहका पदाधिकारीहरू सँग सहयोग लिन सक्ने सभामुख यादवले जनाएका छन् । प्रदेशको नामाकरणका लागि ‘मधेश प्रदेश’,‘मिथिला–भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ प्रस्ताव पेस भएको छ । त्यस्तै नामका लागि जनकपुरधाम र वीरगंज प्रस्ताव पेस भएको छ । सभामुख यादवले प्रदेशको नाम र राजधानीका लागि समिति गठन गरेर प्रदेश सभा बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया