राजनीति

रहेनन् 'निरु दा'

इकागज |
पुस १९, २०७७ आइतबार १४:१७ बजे

काठमाडौँ : पञ्‍चायत विरुध्दको आन्दोलनमा सक्रिय निरञ्‍जन कोइराला (निरु दा) को ७५ वर्षको उमेरमा भारतको नयाँ दिल्लीमा निधन भएको छ । कोभिड संक्रमण देखिएपछि नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा एक महिनादेखि उपचाररत कोइरालाको आइतबार बिहान निधन भएको हो । केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरुदा कांग्रेस नेता डा. शेखर कोइरालाका दाजु हुन् । 

२०४६ भन्दा अघि दलविहीन पञ्‍चायत व्यवस्थाविरोधी आन्दोलनमा अग्रस्थानमा रहेर काम गरेका उनी शेरबहादुर देउवा, डा. रामशरण महत, ध्यानगोविन्द रन्जितका समकक्षी थिए । त्यतीबेला उनी सबैका प्यारा निरु दा भनेर चिनिन्थे । तर, उनले यहाँ राजनीति भन्दा भारतमै उद्योग व्यवसाय गर्न रुचि देखाए । त्यतै रहेर काम गरे । निरु दाको अवस्था चिन्ताजनक हुँदै गएपछि डा. शेखर एकसाता अघि पुन: दिल्ली पुगेका थिए । 


निरंकुश पञ्‍चायती शासनविरुध्द प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यावसायी पनि हुन् । उनी गिरिजाप्रसाद कोइराला पहिलो पटक प्रधानमन्त्री हुँदा २०४८ मा पर्यटन सल्लाहकार समेत थिए । तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकार समेत रहेका उनी राजनीतिमा सधै लाे प्रोफाइलमा बस्‍न रुचाउँथे ।

र, उनी पछिल्लो समय भारतको दिल्ली र कलकत्तामा व्यवसायमा संलग्‍न रहे । ‘मेरो प्यारो बुबा बबी अनन्तः यात्रामा निस्कनु भएको छ । उहाँको स्वर्गमा बास हुनेछ,’ उनका छोरा डा. भास्कर कोइरालाले सामाजिक सञ्‍जालमा लेखेका छन् । छोरा भास्करका अनुसार, दिल्लीको निगाम्वोद घाटमा उनको अव केहीबेरमा अन्त्येष्टि गरिनेछ । उनका भाइ शेखरले दाइकाे निधनपछि आफू अभिभावकविहीन भएकाे बताएका छन् । 


Author

थप समाचार
x