राजनीति

प्रदेश २ काे स्थायी राजधानी जनकपुरधाम ताेकियाे

सुभाष कर्ण |
माघ ३, २०७८ सोमबार १५:४६ बजे

जनकपुरधाम – प्रदेश २ काे स्थायी राजधानी जनकपुरधाम प्रस्ताव पारित भएकाे छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेपछि स्थायी राजधानी जनकपुर कायम भएकाे हाे ।

सभामुख सराेज यादवले मतदान प्रक्रियापछि आएकाे परिणामअनुसार प्रदेश २ काे स्थायी राजधानी जनकपुरधाम कायम भएकाे बताए । उनका अनुसार प्रदेश सभामा कुल ९९ प्रदेश सभा सदस्य उपस्थित भएकाेमा जनकपुरधाम राजधानीकाे पक्षमा ७८ जनाले र विपक्षमा २० जनाले मतदान गरेका छन् ।


प्रदेशसभा सदस्यहरु परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरतप्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेस गरेका थिए ।

प्रदेश सभामा १०४ जना सांसद छन् । दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।

प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि सुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x