राजनीति

प्रदेशको नाम मधेस प्रदेश घोषणा गरिएकोमा मुख्यमन्त्री तथा सांसदकाे पुतला दहन

सुभाष कर्ण |
माघ ४, २०७८ मंगलबार १५:५ बजे

जनकपुरधाम – प्रदेश २ को नामाकरण मधेश प्रदेश गरिएको भन्दै जनकपुरधामका स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेको छ । मंगलवार स्थानीय युवाहरुले जनकपुरधामको जानकी चौकमा २२ जिल्ला रहेका मधेशलाई संकुचित गरी ८ जिल्लालाई मात्र समेटने गरी मधेश प्रदेश नामाकरण गरी बेइमानी गरेको भन्दै विरोध  प्रदर्शन गरेका हुन् । 

विरोध प्रदर्शनको क्रममा स्थानीय युवा अभियन्ता शुशिल कर्णको अगुवाइमा युवाहरुले मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेशका सांसदहरुको पुतला दहन समेत गरेका छन । उनीहरुले हामी ८ जिल्लामा केन्द्रित मात्र छैनौं २२ वटै जिल्लालाई समेटेर मधेश प्रदेश बनाउ भन्ने माग राखेका छन् । 


प्रदर्शनमा सहभागीहरु युवाहरुले मधेश प्रदेश हामी मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर लगायतका नाराबाजी समेत गरेका छन् । 'मधेश भूभाग भनेको २२ जिल्लाको रहेकोले ८ जिल्लालाई मात्र हामी स्वीकार गर्दनौं ।', अभियन्ता कर्णले भने, 'मधेश आन्दोलनमा हामी अग्रपंक्तिमा रहेर आन्दोलन गर्‍यौँ जसका परिणाम ५ वर्षसम्म मुद्दा समेत खेप्याैँ, सो मुद्दा हामीले ८ जिल्लाको मधेस प्रदेशका लागि होइन २२ जिल्लाको समग्र मधेश प्रदेशका लागि खेप्नु पर्‍यो । तर अहिले आएर ८ जिल्लामा सिमित गरेर आन्दोलनमा होमिएका मधेसी जनतासँगको बेइमानी गरिएको छ ।'

उनले ८ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम राख्नु पर्ने बताए ।  


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x