राजनीति

भिजिट भिसामा जानेहरूको समस्या समाधान गर्न सात सदस्यीय समिति गठन

नेपालको एयरपोर्ट प्रयोग भएर कुनै पनि मुलुकलाई असर पर्ने काम हुन हुन्न : गृहमन्त्री

इकागज |
माघ ११, २०७८ मंगलबार १९:० बजे

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच छलफल भएको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डेसहितको बैठकले नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई भोग्नु परेका विभिन्न कठिनाइ र त्यसबारे देखिएका समस्या समाधान गर्न ठोस कार्यान्वयनको योजना पेस गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ । 


समितिका सदस्यहरूमा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकाल र अध्यागमन विभागका निर्देशक (उपसचिव) प्रकाशचन्द्र अधिकारी रहेका छन्। । समितिको सदस्यसचिवमा वैदेशिक रोजगार बोर्डका उपसचिव दिनबन्धु सुवेदी रहेका छन्। 

बैठकमा विदेशमा जाने नेपालीहरूका श्रमजन्य गतिविधि र श्रमका लागि भिजिट भिसाको प्रयोग, अध्यागमन प्रणाली र विदेशमा कार्यरत नेपालीहरूका समस्या समाधानबारे छलफल भएको गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए। 

बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्रान्जिट प्यासेन्जर्सको सहज अवस्था सृजना गर्न उपयुक्त संरचनात्मक सुधार तथा व्यवस्थापन गर्न सस्कृति पर्याटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गर्ने निर्णय निर्णय गरेको छ । त्यस्तै पर्यटन मन्त्रालयले नै अन्तर्राष्ट्रिय उडानको आगमन तथा प्रस्थानलाई व्यवस्थित बनाउन उपयुक्त समय अन्तरालसहितको उडान तालिका व्यवस्थापन गर्ने निर्णय पनि बैठकमा भएको छ । 

कार्गो र लगेजको एक्सरेसहित स्क्यानिङ र आवश्यक नियमनका लागि भन्सार विभागसमेतको समन्वयनमा नेपाल प्रहरीले आवश्यक प्रबन्ध गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुव्यवस्थित बनाउन सके मुलुकको प्रतिष्ठा बढ्ने बताए । नेपालको एयरपोर्ट प्रयोग भएर कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने कुनै पनि काम हुन नहुने बताए। नेपालको यएरपोर्ट प्रयोग गर्दा कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने काम भए ठूलो मूल्य चुकाउनु पर्ने उनको भनाइ थियो । 

मुलुकलाई सुरक्षित मुलुकका रूपमा परिचित बनाउन एयरपोर्टलाई व्यवस्थित बनाउनु पर्ने उनको भनाइ थियो । मुलुकको एउटा मात्र अन्तर्राष्ट्रिय यएरपोर्टलाई प्रविधियुक्त बनाउन सरकार लागिरहेको उनले बताए ।


Author

थप समाचार
x