राजनीति

राष्ट्र बचाउन वृहद मोर्चा निर्माण गर्नुपर्छ : शर्मा

लक्ष्मी भण्डारी |
पुस २७, २०७७ सोमबार १७:१० बजे

सुर्खेत : नेकपा (दाहाल-नेपाल समूह) स्थायी समिति सदस्य जनार्दन शर्माले जनताले संयुक्त मोर्चा निर्माण गरेर राष्ट्रलाई बचाउने जिम्मेवारी लिनुपर्ने बताएका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग शर्माले अहिलेको मुख्य आवश्यकता वृहत मोर्चा निर्माण गरेर अघि बढ्नु रहेको बताए । 

‘राष्टिय मोर्चा बनाएर अघि बढ्नको लागि आव्हान गर्दछु’ शर्माले भने, ‘हिजो आन्दोलनबाट प्राप्त उपलब्धीको स्वमित्व सिमीत वर्गको हातमा छ यो सबै वर्गमा समान हुन जरुरी छ ।’


उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमले मुलुकलाई अध्याँरोतिर धकेलेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले संविधानमै नभएको धारा प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेको शर्माले आरोप लगाए । प्रधानमन्त्रीले मनलाग्दी गरेको र अब त्यसविरुध्द लड्नुको विकल्प नरहेको शर्माले बताए । 

दुई पार्टीबीच एकता गर्नु सही कदम भए पनि अहिले प्रधानमन्त्रीले भ्रम छरेको बताए । ‘उहाँहरूले गठन गरेको पार्टी  निर्वाचन आयोगले अस्वीकार गरिसक्यो ’ उनले भने, ‘त्यसैले केन्द्रमा नेकपा एउटै पार्टी छ ।’

कर्णाली प्रदेशका पार्टी इन्चार्ज शर्माले कर्णाली सरकार गठन गर्दा गम्भीर त्रुटि भएको बताएका छन् । उनले कर्णाली सरकारमा जनसंख्याअनुसार दलित समुदायको प्रतिनिधित्व गराउन नसकेको बताए । सहभागीता गराउन पहल गर्दै आएको उनको भनाइ छ । मुख्यमन्त्रीलाई सहज रुपमा काम गर्ने वातावरणको सिर्जना गर्ने गरी कर्णाली सरकार पुर्नगठन गर्ने नेता शर्माले बताए । 


Author

थप समाचार
x