राजनीति

प्रदेश १ मा सत्ता गठबन्धन सकस

सपथमै नगएका मन्त्री कार्की भन्छन् : ‘राजीनामा दिनेबारे सल्लाह हुँदैछ’

बाबुराम भण्डारी |
माघ २४, २०७८ सोमबार २१:४७ बजे

विराटनगर - आइतबार मुख्यमन्त्री राजेन्द्र कुमार राईले मन्त्रालय फुटाएर थपेका ८ मन्त्रीहरुको सपथ ग्रहणमा नगएका प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले मन्त्री पदबाट राजीनामा दिने सल्लाह गरिरहेको बताएका छन् । 

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका मन्त्री कार्कीले मन्त्रीमण्डलमा पार्टी अध्यक्ष शेरबहादुर देउवा निकटका सांसदलाई मात्रै मन्त्री बनाइएको विषयमा पार्टीभित्रै असन्तुष्टि जनाइरहेका थिए । 


त्यहिबेलामा मुख्यमन्त्री राईले अन्तिम समयमा आएर आफू नेतृत्वको आन्तरिक  मामिला तथा कानुन मन्त्रालयको कार्यक्षेत्रभित्र रहेको संचार सम्बन्धी अधिकार खोसेर यातायात तथा संचार मन्त्रालय थप गरेपछि मन्त्री कार्की रुष्ट भएका हुन् ।

उनले मन्त्रालय विभाजन र मन्त्रीहरुको नाम टुंग्याउने विषयमा मुख्यमन्त्री राईले सरसल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । त्यसैगरी मन्त्रीको चयन गर्दा पार्टी सभापति देउवा निकटका सांसदलाई मात्रै मन्त्री बनाएको भन्दै उनी मुख्यमन्त्री राईसँग रिसाएका हुन् । 

कार्की संस्थापन इतर डा.शेखर कोइराला निकटका नेता हुन् । पहिलो पटक सरकार गठन गठबन्धनका पाँच दलबाट एक–एकजना मन्त्री बनाउने सहमति भए पनि उनी पार्टीभित्रको गुटगत लविङलाई चुनौति दिंदै बलजफ्ती मन्त्री बनेका थिए ।

मन्त्री पदबाट राजीनामा गर्ने हल्ला चलेपछि त्यसबारे जानकारी माग्दा मन्त्री कार्कीले भने, ‘साथीभाइहरुबीच सरसल्लाह भइरहेको छ, सबैले राजीनामा दे भनेर सल्लाह दिइरहेका छन्, सल्लाह हुँदैछ ।’

मन्त्री कार्की आइतबार बेलुका सरकार विस्तारपछि बसेको मन्त्रिपरिषद् बैठकमा समेत अनुपस्थित भएका थिए । उनी विहानैदेखि विराटनगर महानगरपालिका–१२ स्थित आफ्नो अगुवाइमा निर्माणाधिन एकीकृत बस्तीमा स्वयंम्सेवक भएर खटिएको फोटो तथा भिडियो सार्वजनिक भएको थियो । 

मुख्यमन्त्री राईले १२ वटा मन्त्रालय बनाउने कुरामा सरसल्लाह गरेको भए पनि अन्तिम समयमा पुनः एउटा मन्त्रालय थपेको र त्यसबारे जानकारी नगराएकोले आफ्नो असहमति रहने कार्कीले बताए । 

‘१२ वटासम्म मन्त्रालय बनाउने भन्ने कुरा हामीलाई इन्फर्म थियो, मन्त्री कसलाई बनाउने भन्ने कुरामा जानकारी पनि गराएनन्’ सपथ ग्रहणमा सहभागी नहुनुको कारणबारे जवाफ दिँदै मन्त्री कार्कीले भने ‘लाष्टमा १३ वटा मन्त्रालय बढाउने कुरामा त हामी कसैलाई पनि जानकारी दिएनन्, सरकारका सबै कुरामा हामीले अब जनतालाई जानकारी गराउन सक्दैनौं, थाहा नभएका कुरामा सामेल भएर साक्षी बस्नुपर्छ लागेन ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x