राजनीति

प्रदेशमा सुशासन कायम गर्न केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने : मुख्यमन्त्री राउत

सुभाष कर्ण |
फागुन २, २०७८ सोमबार १९:१७ बजे

जनकपुरधाम – प्रदेशभित्रका स्थानीय तहमा सुशासन कायम गर्न प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले महत्वपुर्ण भूमिका निर्वाह गर्ने मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताएका छन ।

निर्वाचित पदाधिकारी तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गठित अनुसन्धान तथा प्रशिक्षण केन्द्र कार्यालयको सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री राउतले जनप्रतिनिधि तथा क्षमता अभिवृद्धिले सुशासन कायम गर्न कोशेढुंगा साबित हुने बताए ।


करिब एक महिनाअघि स्थापना भएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रलाई प्रदेशकै नमूना अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्न विगतका ग्रामीण विकास प्रशिक्षण केन्द्रलाई यसै अन्तर्गत ल्याई लक्ष्य रहेकोले आवश्यक पूर्वाधारको विस्तृत योजना तयार पार्न निर्देशन समेत दिए ।

सो केन्द्रले तालिम दिने काम मात्र नगरी प्रदेशका विभिन्न पक्षबारे अनुसन्धानको नीतिसमेत लिने भन्दै मुख्यमन्त्री राउतले यस केन्द्रलाई देशी विदेशी नागरिकको लागि समेत अध्ययन अनुसन्धान आकर्षणको केन्द्र बनाउने प्रदेश सरकारको योजना रहेको बताए ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक सतार अन्सारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रमुख सचिव कृष्ण बहादुर राउत सहितका व्यक्तिहरुले आ–आफ्ना धारणा राखेका थिए ।

प्रदेश सरकारको आदेशले गठित सो अनुसन्धान तथा प्रशिक्षण केन्द्रले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई मात्रै नभई सरकार मातहतका संस्थान तथा संगठित संस्थाका पदाधिकारी एवं कर्मचारीहरुलाई समेत तालिम दिनेछ भने सेमिनार, गोष्ठी, अन्तरक्रिया, अनुभव आदान प्रदान र कार्यशाला लगयतका कार्यक्रमहरु समेत सञ्चालन गर्नेछ ।

केन्द्रले तालिम तथा प्रशिक्षणका लागि पाठ्यक्रम, प्रशिक्षण सामाग्री तथा कार्यतालिका समेत निर्धारण गर्नेछ । प्रदेश निजामति तथा स्थानीय सेवाका कर्मचारीका लागि प्रवेश तथा सेवाकालिन तालिम संचालन गर्नुका साथै सेवा निवृत हुन लागेका कर्मचारीहरुको भावी योजनाका सम्बन्धमा समेत प्रशिक्षण दिने जस्ता कार्य गर्ने प्रदेश सरकारको आदेशमा व्यवस्था छ ।

आदेश कानुनअनुसार स्वशासित संस्थाको रुपमा रहने सो केन्द्रले लैङ्गिक सामाजिक समावेशिता, समता र समविकास, दिगो विकास र मौसमका परिवर्तनहरुको व्यवस्थापन, संघीय लोकतान्त्रिक व्यवस्थाका मूल्य मान्यताको आधारमा काम गर्नेछ ।

केन्द्रको संगठन संचालनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, सचिव स्तरीय संचालक समिति र कार्यकारी निर्देशकको नेतृत्वमा कर्मचारी सहितको २० सदस्यीय निर्देशक समिति रहने छ । कार्यकारी निर्देशक अन्तर्गत क्षमता, विकास नीति र अनुसन्धान महाशाखा र व्यवस्थापन र प्राविधिक सहयोग महाशाखा सहितको सांगठनिक संरचना तयार गरिएको छ ।

क्षमता, विकास, निती र अनुसन्धान महाशाखा अन्तर्गत योजना तर्जुमा र पाठ्यक्रम विकास शाखा, अनुसन्धान र ज्ञान व्यवस्थापन शाखा, प्रशिक्षण तथा क्षमता विकास शाखा सहित तीन वटा शाखा रहनेछ भने अनुसन्धान महाशाखा र व्यवस्थापन र प्राविधिक सहयोग महाशाखामा समेत प्राविधिक सहयोग र सहकार्य शाखा, व्यवस्थापन शाखा र आर्थिक प्रशासन शाखासहित तीन वटा शाखा रहने गरी केन्द्रको सांगठनिक संरचना तयार गरिएको हो । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x