राजनीति

मुख्यमन्त्री राईको जवाफ :

‘गठबन्धनमा शान्ति कायम नगरी अरुसँग लड्न सकिंदैन’

बाबुराम भण्डारी |
फागुन ४, २०७८ बुधबार १८:३६ बजे

विराटनगर – सातवटा मन्त्रालयबाट १३ वटा बनाएर १४ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेपछि आलोचना खेपिरहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले गठबन्धनमा शान्ति कायम गर्न मन्त्रालय फुटाउनु परेको जवाफ दिएका छन् । उनले गठबन्धनभित्र शान्ति कायम नगरी अरुसँग लड्न नसकिने सिद्धान्तका साथ मन्त्रालय विस्तार गर्नुपरेको बताएका छन् ।

बुधबार नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन प्रदेश समितिको प्रथम भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले मन्त्रालय फुटाउने र मन्त्रीको संख्या बढाएको विषयमा भइरहेको आलोचनाबाट जोगिन गठबन्धनभित्रको आवश्यकतालाई अघि सारेका छन् । उनले मन्त्रालय फुटाएर गठबन्धनभित्र राजनीतिक व्यवस्थापन गरिएको तर्क गरे ।


‘लुकाउन पर्ने कुरै छैन, राजनीतिक रुपमा व्यवस्थापन भएन भनेर मुलुकमा यत्रो १२ वर्ष द्वन्द्व भएर काम हुन सकेन’ मुख्यमन्त्री राईले भने, ‘भनेपछि आफ्नो गठबन्धनको क्याम्पमा शान्ति स्थापना नगरेसम्म अरुसँग लड्न जान सकिन्छ ? काम गर्न जान सकिन्छ ? त्यसकारणले यो अन्यथा कुरा होइन ।’ उनले मन्त्रालय विस्तारका क्रममा केही मन्त्रालय कामकै आवश्यकताले बढाउनु परेको बताए । तर राजनीतिक आवश्यकताले समेत केही मन्त्रालयको संख्या बढाइएको स्पष्ट पारे । 

‘नबढाउने हो भने अहिलेसम्म पनि मन्त्रीमण्डलको विस्तार भएको हुने थिएन, मैले एउटा बाटो रोज्नु पर्ने थियो’ उनले भने, ‘कि ६ महिनासम्म मन्त्रीमण्डल विस्तार नगरीकन तपाईंहरुको सुन्दर कुरा सुनेर बस्नु ? कामै नगरी बस्न त सकिंदैन ।’ उनले पहिलो पटक सरकार गठन गर्दा नै मन्त्रालयहरुको कार्यक्षेत्रबारे गठबन्धनभित्र असन्तुष्टि देखिएको भन्दै प्रदेश सरकारलाई अघि बढाउनका लागि पनि सरकार विस्तार गरिएको मुख्यमन्त्री राईको प्रष्टोक्ति रहेको थियो । भौतिक पूर्वाधार मन्त्रालयमा मात्रै सडक, पुल, ऊर्जा लगायतका धेरै कार्यक्षेत्र रहेको र एकै ठाउँमा कामलाई खापेर राख्दा सरकारले विनियोजन गरेको बजेट कार्यन्वयन गर्न गाह्रो हुने गरेको बताए।

‘भगवानहरुमा त सरस्वतिको काम बेग्लै छ, बिष्णुको काम अर्को, महादेवको अर्को, हनुमाानको अर्को थियो भने एउटै मान्छेले सवै काम गर्दछ ?’ मुख्यमन्त्री राईको तर्क थियो, ‘खर्चको कुरा त हिसाब कसैले गरेको छैन, तर प्रदेश सरकार चलाउनेले दुई/चार रुपैयाँको हिसाब गरेर बस्दैन ।’ 

उनले सरकारसँग चार रुपैया खर्च गरेर २० रुपैयाँ कमाउन सक्ने अवस्थाको सिर्जना गर्ने बताए । साथै सिद्धान्तमा मन्त्रालय विभाजन र ठुलो आकारको मन्त्रीमण्डल विस्तारको विरोध भएको भएपनि सरकारले सिद्धान्तलाई भन्दै व्यवहारलाई कार्यन्वयन गरेर अघि बढ्ने प्रष्ट पारे । 

मुख्यमन्त्री राईले मन्त्रालय फुटाउने र मन्त्रीहरुको संख्या बढाएको बिषयमा पत्रकारहरुले आलोचना गरेकोमा कम्तिमा गठबन्धन दल निकटका पत्रकारहरुले भने सरकारको बाध्यता बुझिदिनुपर्ने बताए । प्रदेश सरकारका यातायात तथा संचारमन्त्री उपेन्द्र प्रसाद घिमिरेले अघिल्ला सरकार लोभ पापमा फसेका कारण भएका मन्त्रालयहरुमा पनि मन्त्रीहरु नियुक्त हुन नसकेको बताए । उनले प्रदेश १ मा महिला पत्रकारहरुलाई प्रोत्साहन हुने गरी आफूले आगामी योजना तथा कार्यक्रमहरु अघि बढाउने आश्वासन दिए 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x