राजनीति

कांग्रेस सांसद सुब्बाले भन्छिन्

'हामी गठबन्धनको झोले होइन, यस्तो गठबन्धन चाहिंदैन'

बाबुराम भण्डारी |
फागुन १६, २०७८ सोमबार १४:५६ बजे

विराटनगर । नेपाली कांग्रेसकी प्रदेश सांसद ज्योति सुब्बाले पाँच दलीय गठबन्धनको वर्तमान सरकारभित्र कांग्रेसलाई कमजोर पार्न खोजिएको भन्दै गम्भीर असन्तुष्टि जनाएकी छन् । सोमबार प्रदेश १ को प्रदेशसभामा बोल्दै सांसद सुब्बाले सरकार एकपक्षीय रुपमा सञ्चालन भएको असन्तुष्टि जनाएकी हुन् ।

गठबन्धनको सवैभन्दा ठुलो दल नेपाली कांग्रेसलाई मुख्यमन्त्रीले झोले बनाउन खोजेको भन्दै यस्तो गठबन्धनलाई कांग्रेसलाई नचाहिने सम्मको चेतावनी दिइन् । उनले गठबन्धनकै औचित्यमाथि प्रश्न उठाउँदै सदनमै बोल्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताइन् ।


‘आज गठबन्धनको सरकार छ, हामी गठबन्धनमा छौं तर मुख्यमन्त्री र अर्थमन्त्रीले आफ्नो खुसीले मन्त्रीमण्डल गठन गर्छन् किन ?’ उनले प्रश्न गरिन् ‘गठबन्धनमा नेपाली कांग्रेस झोले हो ? गठबन्धनको झोला बोक्ने हो हामी माओवादी र एकीकृत समाजवादीको ? हामी नोकर होइन, हामी झोले होइन ।’

उनले सरकारका कांग्रेसका मन्त्रीहरुको भूमिकालाई कमजोर बनाउन खोजिएको आरोप लगाइन् । उनले गठबन्धन भइसकेपछि सवै दलको इज्जत र मान रहनुपर्ने भन्दै मुख्यमन्त्री राईको ध्यानाकर्षण गराइन् ।

‘यदि दुईजनाले मात्रै निर्णय गर्ने हो भने हामी गठबन्धन सरकारमा बस्न चाहदैनौं, हामीलाई यस्तो गठबन्धन चाहिंदैन’ सांसद सुब्बाले भनिन्, ‘गठबन्धन सरकारको ध्यानाकर्षण हुनुपर्छ ।’

उनले यहि सरकारले प्रदेशको नामाकरण गर्नुपर्ने बताइन् । नामाकरणको प्रक्रिया अघि बढाउन मुख्यमन्त्री राईलाई आग्रह समेत गरिन् । नामाकरणमा सहमति हुन नसके मतदानको प्रक्रियामा लैजानका लागि समेत सरकार तयार हुनुपर्ने बताइन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x