राजनीति

एमाले जनकपुरधाममा विवाद : समानान्तर कार्यसमिति गठन

सुभाष कर्ण |
फागुन १७, २०७८ मंगलबार १९:८ बजे

जनकपुरधाम – नेपाल कम्युनिष्ट पार्टी एमाले धनुषाको विभिन्न स्थानीय तहको नगर अधिवेशनमा विवाद उत्पन्न भएको छ । केही नगरमा विवाद देखिएलगत्तै जनकपुरधाम उपमहानगरपालिकामा भने दुईवटा कार्यसमिति गठन गरिएको छ ।

जनकपुरधाममा केन्द्रीय सदस्य यदुवंश झा र सचिव रघुवीर महासेठका समूहले छुट्टाछुट्टै अधिवेशन गरी समानान्तर कार्यसमिति गठन गरेका छन । दुवैले आफूलाई अधिकारिक रहेको दाबी गरिरहेका छन ।


सोमबार नेता झाको पक्षले जिल्ला अध्यक्ष राजकिशोर यादवको पहलमा अधिवेशन गरी शुभनारायण मण्डलको अध्यक्षमा ८५ सदस्यीय कार्यसमिति चयन गरेको छ भने सचिव रघुवीर महासेठको पक्षधरले मंगलवार सुरेन्द्र भण्डारीको अध्यक्षतामा पनि ८५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

झा पक्षधरका मण्डल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का तात्कालिन वडाध्यक्ष हुन् । उनी भ्रष्टाचार आरोपमा निलम्बन भइसकेका छन । हालसम्म उनी भ्रष्टाचार मुद्दा खेप्दै नै आएका हुन भने महासेठ पक्षधरका भण्डारी ठेकेदार र व्यवसायी पेसाबाट आबद्ध हुन ।

झा पक्षधरको अधिवेशनमा केन्द्रीय सदस्य शीला यादव र महासेठ पक्षधरको अधिवेशनमा पोलिटब्यूरो सदस्य जुली महतोले प्रमुख आतिथ्य ग्रहण गरेकी थिइन् । 

झा पक्षधर मण्डलको अध्यक्षतामा गठित नगर कमिटीको उपाध्यक्षमा महेन्द्र प्रसाद साह, सचिवमा लक्ष्मेश्वर यादव, सहसचिवमा जय प्रकाश साहलाई चयन गरिएको छ भने महासेठ पक्षधर भण्डारी अध्यक्षतामा रहेका कमिटीको उपाध्यक्षमा सन्तोष महतो, सचिवमा राजकुमार साह, उपसचिवद्वयमा रुका मिश्र र दिपनारायण साह रहेका छन् ।

महासेठ पक्षधर कमिटी बारे मधेश प्रदेश सदस्य शिवशंकर साह हिराले आफ्नो पक्षधरको कमिटी अधिकारिक रहेको दाबी गरेका छन् । उनले भने, 'हाम्रो अधिवेशनमा २५ मध्ये २३ वडा कमिटीका सदस्यहरुको उपस्थिति रहेकोले अधिकारिक हो, समानान्तर कमिटी गठन गर्ने समूहलाई पार्टीले कारवाही गर्नेछ ।'

यता विवाद बारे जिल्ला अध्यक्ष राजकिशोर यादवले पार्टी भित्र गुट उपगुट हावी भएको कारण जिल्लाको विभिन्न स्थानीय तहमा विवाद र जनकपुरधाम उपमहानगरमा समानान्तर कमिटी नै गठन हुनु गलत रहेको बताए ।

उनले भने, 'जिल्ला भित्रै देखिएका विभिन्न स्थानीय तहको विवाद समाधान भइसकेको र केहीमा समाधानको प्रक्रियामा रहेको छ भने जहाँसम्म जनकपुरधामको कुरा हो पार्टीले दुईटा कमिटी रहदैन, दुवै पक्षलाई बसाएर छलफल गरी सहमतिमा लग्ने प्रयास गर्नेछौं ।'

अध्यक्ष यादवले जिल्लाकै प्रदेश इन्चार्ज र केन्द्रिय सचिव रहेको ठाउँमा व्यक्तिगत स्वार्थका कारण यस्तो विवाद हुनु दुर्भाग्य हो, अध्यक्षको नाताले दुवै पक्षलाई बसाएर समन्वय र सहमतिले सबैलाई समेटने गरी एउटै कमिटी गठन गर्नेछौं । तर यसका लागि जिल्ला अध्यक्षको मात्रै होइन केन्द्रीय सचिव र प्रदेश इन्चार्जको उत्तिकै कै दायित्व हो ।  

धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित विदेह नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका र मिथिला बिहारी नगरपालिकामा विवाद देखिएको हो । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x