राजनीति

प्रतिनिधि सभा विघटनविरुध्दको बहस जारी, मुद्दा हेर्दाहेर्दैमा

इकागज |
माघ ६, २०७७ मंगलबार १५:४२ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुध्दको सर्वोच्च अदालतमा परेको रिटमा जारी बहस मंगलबारका लागि सकिएको छ । मंगलबार रिट निवेदकका तर्फबाट ५ अधिवक्ताले बहस गरेका छन् । 

मंगलबार शिवकुमार यादव, शेरबहादुर ढुंगाना, हर्कबहादुर रावल, रुद्र शर्मा र चन्द्रकान्त ज्ञवालीले बहस गरेका हुन् ।  आज ज्ञवालीले बहस गर्दागर्दै मुद्दा हेर्दाहेर्दैमा राखिएकाले भोलि पनि बहसको सुरुवात ज्ञवालीले नै गर्नेछन् । 


बहसमा अधिवक्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउन प्रतिनिधि सभा विघटन गरेको जिकिर गरेका थिए । पदका लागि व्यवस्था मास्‍न नमिल्ने भन्दै अधिवक्ताहरूले प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको बताएका थिए ।
 
त्यसअघि आइतबार अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनिल पोखरेल, बद्री भट्ट र सन्तोष भण्डारीले बहस गरेका थिए । प्रतिनिधि सभा विघटनविरुध्दको मुध्दामा साढे तीन सय वकिलले बहसका लागि नाम टिपाएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि पुस ६ गते दर्जन बढी रिट निवेदन सर्वोच्चमा दर्ता भएका थिए । 
 


Author

थप समाचार
x