राजनीति

निर्वाचनमा होमिन कांग्रेसको सर्कुलर (पत्रसहित)

मधुसुधन भट्टराई |
माघ ७, २०७७ बुधबार १५:१४ बजे

काठमाडौँ : नेपाली कांग्रेसले निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागिता जनाउन सर्कुलर जारी गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार सबै जिल्ला सभापतिहरूलाई पत्र काटेर मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन भनेका छन् ।

का‌ग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी घोषणा गरेको मध्यावधि निर्वाचनलाई वैधानिकता दिन निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रममा सहभागिता जनाउन भनेको हो ।


पुस ५ मा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि बसेको पदाधिकारी बैठकले सो कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भनेको छ । पदाधिकारी बैठकको सो निर्णय आकस्मिक रूपमा पुस ७ गते बोलाइएको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो ।

कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणका आन्दोलन गरिरहेको छ । पहिलो चरणमा पुस १३ मा १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको कांग्रेसले दोस्रो चरणमा पुस २५ मा ३३० प्रदेशसभा क्षेत्रमा र माघ ३ गते ७५३ पालिकामा विरोध सभा गरिसकेको छ । बिहीबार मुलुकभरका वडाहरूमा विरोध कार्यक्रम गर्न लागेको कांग्रेसको यो ‘सर्कुलर’ले  दुवैतिर ठिक्क भएजस्तो देखाएको छ । 

पौडेलले पत्रमा आयोगले माघ १५ गतेबाट २१ गतेसम्म देशभरका ७५३ स्थानीय तहमा हुने मतदाता अद्यावधिक कार्यक्रममा सहभागिता जनाउन भनेका छन् । पत्रको बोधार्थ सबै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका सभापति, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापति र सबै पालिका समितिका सभापतिलाई पठाएका छन् ।


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x