‘प्रतिनिधि सभा तुहिए संविधानको पनि मृत्यु हुन्छ’
काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको संवैधानिक इजलासमा खाजा समयअघि चार जना कानुन व्यवसायीले बहस गरेका छन् ।
बहसका क्रममा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैरसंवैधानिक भएको कानुन व्यवसायीले बताएका छन् । बिहीबारको बहसमा भाग लिएका अधिवक्ता ओमप्रकाश अर्यालले जनताको सार्वभौम प्रतिनिधि सभा विघटन गरेर अराजनैतिक शैली देखाएका प्रधानमन्त्री ओलीले समय छँदै प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने बताए ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि सभा विघटन गरेको गल्ती महसुस गर्दै प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने अधिवक्ता अर्यालले बताए । तत्कालिन राजा ज्ञानेन्द्रले प्रतिनिधि सभा विघटन गरेर सत्ता हातमा लिन खोज्दा धेरै दिन नटिकेको भन्दै अधिवक्ता अर्यालले अहिले ओलीले गरेको संवैधानिक कु धेरै दिन नटिक्ने बताए ।
अधिवक्ता अर्यालले प्रतिनिधि सभा तुहिए संविधानको पनि मृत्यु हुने भन्दै अझै दुई वर्ष कार्यकाल रहेको प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नरहेको बताए । यस्तै अधिवक्ता टीकाराम भट्टराईले संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेको बताए ।
संवैधानिक निकायमा पदपूर्ति गर्न पनि अध्यादेश ल्याउने र प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम सन्देहमुलक भएको अधिवक्ता भट्टराईको भनाइ छ । यस्तै रिट निवेदक समेत रहेका अधिवक्ता समृत अर्यालले प्रधानमन्त्री ओलीले राजनीतिक निर्णयका आधारमा प्रतिनिधि सभा विघटन गरेको जवाफ अदालतलाई दिएपनि त्यो गलत रहेको बताए ।
उनले संवैधानिक रुपमा गम्भिर गल्ती गरेर प्रतिनिधि सभा विघटन गरिएकाले संविधानको व्यवस्था अनुसार प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया