राजनीति

ओलीलाई प्रधानमन्त्री बनाएर पुर्पुरोमा हात राख्‍नुपर्‍याे : नेपाल

लक्ष्मी भण्डारी |
माघ ८, २०७७ बिहीबार १८:१६ बजे

सुर्खेत : नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अहिले पुर्पुरोमा हात राख्नुपर्ने अवस्था आएको बताएका छन् । बिहीबार सुर्खेतमा आयोजित समूहको भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीलाई सुधार्न विभिन्‍न प्रयास गरे पनि अहिले आएर आफूहरूलाई पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याएको बताएका हुन् । ‘ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको मैले हो, ओली सुध्रिएलान् भनेको सुधार्न सकिएन’ नेपालले भने, ‘कस्तो मान्छेलाई प्रधानमन्त्री चुनिएछ जस्तो लाग्छ ।’

ओलीले आफ्नो कुर्सीको आयु लम्ब्याउनको लागि प्रतिनिधिसभा विघटन गरेको उनको आरोप छ । प्रधानमन्त्रीले मूलुकलाई संकटमा पारेको उनले बताए । ‘ओलीले संविधान विरोधी, अलोकतान्त्रिक कदम चालेका छन् ।’ नेपालले भने, ‘उनले चालेका प्रतिगामी कदमले मुलुक संकटमा परेको हो ।’ पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्यसमेत रहन नसक्ने भन्दै नेपालले ओलीलाई साधारण सदस्य नरहनेगरी पार्टीले निस्कासन गर्ने बताए ।


‘ओली कहिलेदेखि एमाले भए ?’ नेपालले भने, ‘रौतहट आन्दोलनमा सँगै मैले लिएको मान्छे । अहिले माधव नेपाल को हुन् भनेर सोध्छन् । त्यसैले ओली कहिलेदेखि एमाले भए ?’ उनले भने । 

संविधान जारी गर्दा सुशील कोइराला तयार भए पनि ओली तयार नभएको नेपालले आरोप लगाए । ‘प्रचण्डको भर्‍याङ चढेर प्रधानमन्त्री बनेका ओलीले त्यही भर्‍याङ भाँचिदिएका छन्’ उनले भने, ‘ओलीका कामबाट वाक्क दिक्क भएर सडकमा निस्किएका हौ ।’

‘केपी ओलीमा सामूहिक भावना नभएको र उनी व्यक्तिवादी, गुटवादी प्रवृत्तिका मान्छेको रुपमा उभिएको नेपालले आरोप लगाए । ‘यस्ता व्यक्ति कम्युनिष्टका नेता हुन सक्दैनन्’ उनले भने, ‘केपी ओली कम्युनिष्ट होइनन्  उनले  चुनाव चिन्ह सूर्य होइन अस्ताउँदो सूर्य चिन्ह लगे हुन्छ ।’

ओलीको कदम असंवैधानिक भएको बताउँदै उनले अदालतले नै ओलीलाई बिदाइ गर्ने बताएका छन् । अत्यधिक ठूलो बहुमत आफूहरुसँग भएको भन्दै उनले ओली अल्पमतमा परिसकेको उनले दाबी गरे । 

सोही सभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य शक्तिबहादुर बस्नेतले नागरिकको सपनामा गम्भीर प्रहार भएको बताए । उनले ओलीको असंवैधानिक कदमकाविरुद्ध सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले आफ्नै नेताकाविरुद्ध सडकमा आउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताइन् । प्रधानमन्त्री र राष्ट्रपतिले देशलाई सिध्याउन लागेको भन्दै उनले भनिन्, ‘संविधानमाथि बलात्कार भएको छ ।’ 

ओली समूहको चुनाव चिन्ह बयलगाडा, झण्डामा बाँदर अंकित चिन्ह : ज्वाला

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा रहेको बताएका छन् । वीरेन्द्रनगरमा आयोजना गरिएको दाहाल–नेपाल समूहको भेलालाई सम्बोधन गर्दै उनले एकताबद्ध भएको पार्टीलाई विभाजनको मुखसम्म प्रधानमन्त्री ओलीले लगेको बताए । 
‘आगामी चुनावमा ओली समूहको चुनाव चिन्ह बयलगाडा र झण्डामा बाँदर अंकित चिन्ह लिएर आउनुभए हुन्छ’ ज्वालाले भने, ‘किनभने उहाँले बाँदरे प्रवृत्ति देखाउनुभएको छ ।’

आगामी चुनावमा केपी शर्मा ओली समूहले शून्य सिट प्राप्त गर्ने उनले जिकिर गरे ।  उनले भने, ‘चुनावपछि प्रधानमन्त्री ओली समूहलाई टर्च लगाएर खोज्नु पर्छ ।’


Author

थप समाचार
x