राजनीति

सर्वोच्‍चको आदेशपछि पूर्वप्रधानन्यायाधीश कार्कीको प्रतिक्रिया

'मलाई थुनिदिए पनि मतलब छैन'

इकागज |
माघ १५, २०७७ बिहीबार १७:३२ बजे

काठमाडौं : प्रधानन्यायाधीशबाट अवकाश लिएपछि सर्वोच्च अदालत टेकेकी थिइनन्, सुशीला कार्कीले । २०७४ जेठ २३ मा १२:३० मा सर्वोच्च अदालतबाट बाहिरिएकी थिइन् । अब सर्वोच्च टेक्नुपर्ने भएको छ, ‘अदालतको अपहेलना’ मुद्दामा । 

सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले ‘अदालतको अपहेलना’ मुद्दामा ‘सात दिनभित्र आफै लिखित जवाफ पेस गर्नुहोला’ भन्‍ने आदेश दिएसँगै फेरि सर्वोच्च अदालतमा पाइला टेक्नुपर्ने भएको हो । कार्कीसँगै पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा र कल्याण श्रेष्ठलाई एकै प्रकृतिको आदेश जारी भएको छ ।


‘तपाईंलाई अदालतको आदेश सुन्दा कस्तो लाग्यो ?’ इकागजको प्रश्‍नमा कार्कीले भनिन्, ‘मलाई कुनै अनौठो लागेन । अदालतले बोलाएको हो भने म जान्छु । त्यसमा सकारात्मक वा नकारात्मक निर्णय म ठीकै ठान्छु । मलाई कुनै आपत्ति हुनेवाला छैन ।’

कार्कीले अदालतको अपहेलना र अपमान त सोच्‍नसमेत नसकिने विषय भएको उल्लेख गर्दै भनिन्, ‘हाम्रो मक्सद अदालतलाई अपमान र अपहेलना गर्नु थिएन । प्रतिनिधि सभा विघटनसँगै समाजमा एक किसिमको अन्यौल पैदा भयो, संविधानमा यस्तो व्यवस्था छ सम्म भनेका हौं । अदालतको अपहेलना त सोच्न पनि सकिने विषय होइन ।’

कार्की प्रधानन्यायाधीश हुँदा महाभियोग लगाउने प्रपञ्‍चसमेत भयो । संसद्‍मै प्रस्ताव दर्ता भएपछि कार्की निलम्बनमा समेत परेकी थिइन् । ‘मैले जति अपमान कसले झेल्यो होला र ?’ उनले भनिन्, ‘राजनीतिक पार्टीहरूबाट पनि अपमान झेलेकै हुँ । म जेलनेल भोगेको लडाकू मानिस हुँ । कसैसँग डराउँदिन । न्यायका निम्ति म लड्ने मानिस हुँ ।’

कार्कीले यसबाट आफूलाई कुनै असर नपर्ने उल्लेख गर्दै भनिन्, ‘मलाई थुनिदिए पनि मतलब छैन । मेरो इज्जत किन जान्छ र ? यसले मेरो कुनै इज्जत जाँदैन ।’
 


Author

थप समाचार
x