नेकपा फुटेको होइन, केही मान्छे बाहिरिएका हुन् : ओली
तस्बिर : रासस
चितवन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको, केही मान्छे बाहिरिएको बताएका छन् । नेकपा (ओली समूह)ले चितवनमा शनिबार आयोजना गरेको कार्क्रममा प्रधानमन्त्री ओेलीले अब पार्टी एकजुट भएर अगाडि बढ्ने बताए । उनले भने, “पार्टी शुद्धीकरणको आवश्यकता थियो, अब पार्टी एकजुट भएर अघि बढ्छ ।”
मध्यावधि निर्वाचन घोषणा गरिएकै मितिमा हुने उनको भनाइ छ । कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उनले भने, “यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याउनका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरु अल्मलिँदै गरुन् ।” उनले भने, “चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईँहरू ढुक्क हुनुस् ।”
अब कुनै गल्ती नगरीकन जनता र देशका निम्ति काम गर्नेलाई छान्न उनले आग्रह गरे । नाभी विदेशमा गाडिएकाहरू र नाभी अन्तै जोडिएकालाई अब चुनावमा छान्न नहुने उनको भनाइ थियो । देशको, राष्ट्रियताको र स्वाधिनताको रक्षा आफू र आफ्नो पार्टीले गर्ने ओलीले बताए ।
देशलाई अल्पविकसितबाट विकासशील राष्ट्रमा लैजाने ओलीले बताए । “देशको विकास तीव्रगतिले अघि बढेको छ ।” विश्वका थोरै राष्ट्रले मात्रै सुरु गरेको कोभिड-१९ विरुद्धको खोप नेपालमा सुरु भइसकेको उनले बताए । अग्रपङ्क्तिमा रहेकाहरूलाई अहिले खोप लगाइएको बताउँदै उनले क्रमशः सन् २०२१ भित्र सबैलाई खोप लगाइसक्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन संवैधानिक काम भएको बताए । उनले आफूहरू गुटको पक्षमा नभएर पार्टीको पक्षमा रहेको बताए । पार्टीले अहिले शुद्धीकरण अभियान अघि बढाएको भन्दै उनले पार्टीभित्र अवसरवाद, विकृतिविरुद्धको शुद्धीकरण भइरहेको बताए ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले समृद्धिको यात्रालाई अघि बढाएको बताए ।
कार्यक्रममा शहरी विकासमन्त्री प्रभु साहले चितवनलाई समृद्धिको मोडेलको रूपमा विकास गर्ने बताए । चितवनको छुट्टै पहिचान रहेको बताउँदै उनले नेपालको समृद्धिको यात्रामा पनि यसलाई मोडेलको रूपमा अगाडि बढाउने बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सुरु भइसकेको बताए । चितवनको विकासका लागि सरकारले काम गरिरहेको बताउँदै उनले शनिबारमात्रै पुल्चोक-गोन्द्राङ छ लेन सडक र सिटीहल शिलान्यास भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया