राजनीति

अनुगमनका लागि गएको थिएँ, विप्लवका नेतासँग भेट भयो : मन्त्री थापा

‘वार्ताको जिम्मेवारी दिए संयोजन गर्न तयार छु’

इकागज |
माघ २०, २०७७ मंगलबार १३:१४ बजे

काठमाडौँ : प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका नेता हेमन्तप्रकाश वलीसँग भेटवार्ता गरेका खानेपानीमन्त्री मणि थापाले नख्खु कारागार पानी र सरसफाईको अनुगमन गर्न गएको बताएका छन् । मंगलबार बिहान नख्खु कारागार पुगेर आफ्ना पुराना सहकर्मी समेत रहेका विप्लवका नेता वलीसँग भेटेका मन्त्री थापाले कारागारमा पानी र सरसफाईबारे गुनासो आएपछि अनुगमनका लागि गएको बताएका हुन् ।

‘कारागारमा पानी र सरसफाईको समस्या छ भनेर गुनासो आएको थियो’ मन्त्री थापाले इकागजसँग भने, ‘अनुगमन गर्न गएको बेला उहाँसँग पनि भेटघाट भएको हो । त्यस्तो वार्ताकै लागि भनेर गएको चाँहि होइन ।’


विप्लव समूहका नेता वली र मन्त्री थापा पुराना सहकर्मी हुन् । तत्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्वमा समेतसँगै सहयात्रा गरेका दुई नेता अहिले फरक फरक कित्तामा छन् । वली पुष्पकमल दाहाल, मोहन वैद्य हुँदै विप्लव समूहको गुटमा छन् । विप्लव समूहमा लागेर बम विष्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई दुई वर्ष अघि पक्राउ गरेको थियो ।

थापा भने पुष्पकमल दाहाल गुटबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीको गुटमा मिसिएर खानेपानीमन्त्री बनेका हुन् । सँगै पढ्ने, काठमाडौँमा राजनीति थाल्दा सँगै एकै कोठामा बस्ने साथी भएका कारण पनि नख्खु कारागार गएका बेला वलीसँग भेटघाट गरेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्री थापाले बताए ।

‘उहाँ र म घनिष्ट मित्र हौँ । काठमाडौँ बस्दा, पढ्दा र जनयुद्ध लड्दा पनि सँगै थियौ’ मन्त्री थापाले भने, ‘अहिले बिरामी भएकाले अनुगमन गर्न गएका बेला उहाँसँग भेटघाट गरेको हुँ ।’  वली लामो समयदेखि महुमेहका रोगी हुन् । 

मन्त्री थापाका अनुसार छोटो कुराकानीका क्रममा वलीसँग सरकार-विप्लव समूहको वार्ताका विषयमा पनि कुराकानी भएको थियो । उनले वार्ताकै लागि भनेर वलीलाई भेट्न नगएको स्पष्ट पारेका छ्न । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीले वार्ता गर्ने जिम्मेवारी दिएमा संयोजन गर्न तयार रहेको  मन्त्री थापाले बताए ।

‘मैले विप्लवसँग वार्ता गर्ने जिम्मेवारी पाएको छैन्’ वलीसँगको भेटबारे खुलाउँदै मन्त्री थापाले भने, ‘प्रधानमन्त्री र पार्टीले वार्ताको जिम्मेवारी दिए संयोजन गर्न तयार छु ।’ 


 


 


Author

थप समाचार
x