राजनीति

संवैधानिक निकायका पदाधिकारीको शपथ कार्यक्रम उपराष्ट्रपति र सभामुखद्धारा बहिष्कार

इकागज |
माघ २१, २०७७ बुधबार १२:२५ बजे

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटोले संसदीय सुनुवाइ विना नै गरिएको संवैधानिक निकायका पदाधिकारीको सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन् । 

शीतल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले संवैधानिक निकायका प्रमुख र प्रमुखले सदस्यहरूलाई शपथ गराउँदा उपराष्ट्रपति पुन र सभामुख सापकोटाले कार्यक्रम नै बहिष्कार गरेका हुन् । 


यसअघि सभामुख सापकोटाले संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिको सुनवाइ गर्न पनि अस्वीकार गरेका थिए । संवैधानिक परिषदले सुनुवाइका लागि आग्रह गर्दा पनि सभामुख सापकोटाले प्रतिनिधि सभा विघटन भएकाले सुनुवाइ नहुने जवाफ दिएका थिए ।

सुनुवाइ विना पनि सिफारिस भएको ४५ दिनभित्र स्वतः नियुक्त हुने व्यवस्थाअनुसार शीतलनिवासमा उनीहरुले शपथ लिएका हुन् । पूर्व माओवादीबाट उपराष्ट्रपति र सभामुख बनेका पुन र सापकोटा दुवै अहिले नेकपाको दाहाल-नेपाल समूह निकट हुन् ।

यसअघि संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री ओली सापकोटाप्रति आक्रोशित बनेका थिए । प्रतिनिधि सभा विघटनदेखि संवैधानिक परिषद बैठकका विषयमा समेत प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेका सभामुख सापकोटा शपथ ग्रहण समारोहमा नगएको अनुमान छ ।

यसअघि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन पश्चात थपिएका मन्त्रीहरुको शपथमा सभामुख सापकोटा भने उपस्थित भएका थिए । 


Author

थप समाचार
x