राजनीति

मिडियाले हामीलाई गाली गरे : टोपबहादुर रायमाझी

इकागज |
माघ ३०, २०७७ शुक्रबार १७:२७ बजे

बुटवल  : सत्तारुढ नेकपाका नेता तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले धेरैजसो मिडियाले आफूहरुलाई गाली गरेको बताएका छन् । उनले संसद पुन:स्थापनाको पक्षमा मिडियाका न्यूज र भ्यूज (समाचार र विचार) आएको भन्दै त्यसको प्रतिवाद गर्न प्रेस संगठनमा आबद्ध पत्रकाहरुलाई आग्रह गरेका छन् । बुटवलमा ओली समूहको प्रेस संगठनको लुम्बिनी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले गलत समाचारको भण्डाफोर गर्न आग्रह गरे । 

उनले भने, ‘अहिले धेरैजसो मिडिया सरकारको विरोधमा देखिएका छन्, यसबाट आत्तिन जरुरी छैन, भ्रमको खेती गर्नेहरुको कुराभन्दा जनताले वास्तविक अवस्था बुझेका छन्,’ उनले भने, ‘प्रेस स्वतन्त्रताका नाममा केहि मिडियाले गलत किसिमले प्रचार गरेका छन् , त्यसको सत्यतथ्यमा टेकेर प्रतिवाद गर्नुस, प्रेस संगठनको भूमिको यो हो ।’ 


उनले निर्वाचनको पक्षमा माहोल निमार्ण गर्न पत्रकारहरुको ठूलो भूमिका रहेको भन्दै त्यता तर्फ केन्द्रित भएर काम गर्न पनि आग्रह गरे । उनले दाहाल र नेपालबाहेक सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार रहेको दाबीसमेत गरे ।  ‘कांग्रेस लगायतका दलका नेताहरुसँग मेरो कुराकानी हुँदा उहाँहरु निर्वाचनका लागि तयार हुनुहुन्छ,’ उनले भने ।  उनले दाहाल–नेपालहरुले बाटो बिराएको पनि बताए । 

अब कोही पनि डरधम्कीबाट डराउने अवस्था नभएको भन्दै उनले अर्को पक्षका नेताहरुलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष आएर टिकट लिन र चुनावमा जान आग्रह गरे । उनले भने, ‘अब अरु सबै ढोका बन्द भएका छन् उहाँहरु (दाहाल–नेपाल) कि त केपी ओलीसँग टिकट मागरे चुनाव लड्न जाने कि त वैद्यसँग गएर मितेरी साइनो लगाउने, अरु उपाय छैन ।’   


Author

थप समाचार
x