राजनीति

पूर्वलडाकुहरूले भने- माग पूरा गरे ओली पक्षको राजनीतिक लडाईंमा ढाल बनेर उत्रिन्छौँ

बिक्रम खड्का |
फागुन १, २०७७ शनिबार ११:३१ बजे

बुटवल : तत्कालिन माओवादीले सरकारविरुद्ध विद्रोह शुरु गरेको दिनको अवसर पारेर बुटवलमा पूर्वलडाकुहरुले भेला गरे । पूर्वलडाकुहरुले ओली सरकारमा सहभागी मन्त्रीहरु र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई साथमा राखेर परिर्वतनका लागि आफूहरुले गरेको योगदान स्मरण गराए ।

बुटवलमा ओली समूहले गर्ने शक्ति प्रर्दशनकै अवसर पारेर बुटवलमा गरिएको पूर्वलडाकुहरुको राष्ट्रिय भेलालाई निकै महत्वका साथ हेरिएको छ । केहि दिन अघि ओली नेतृत्वको सरकारले पूर्वलडाकुहरुलाई राहत र सम्मान गर्ने निर्णय गरेको थियो । जसबाट सरकारले आफुहरुलाई सम्मान गरेको महसुस भएको भन्दै पूर्वलडाकु कमाण्डर दुर्गा चौधरीले अझै पनि केहि आफूहरुका माग पुरा गरे ओली पक्षको राजनीतिक लडाईंमा ढाल बनेर उत्रिने बताए । उनले पुष्पकमल दाहालले आफूहरुलाई उपयोग गरेर लात हनेको भन्दै अवसरवादी भएको आरोप लगाए ।


दाहालको आलोचना गरेर चौधरी बोलिरहँदा मञ्‍चमा रहेका पुर्वमाओवादी नेता तथा हालका उर्जामन्त्री टोपबहादुर रायमाझी, मन्त्री मणी थापा र मन्त्री लेखराज भट्टले ताली पिटिरहेका थिए । चौधरीले आफूहरुको ठूलो रकम अहिले पनि दाहालहरुले खाएको भन्दै त्यसको खोजविन गर्न सरकारलाई आग्रह गरे ।

चौधरीको नेतृत्वमा बुटवलमा भेला भएका पूर्वलडाकुहरुलाई बाटोमा अवरोध गरिएको पनि बताए । पूर्वलडाकु कमाण्डर चौधरीले भने 'हामीले ओली नेतृत्वको सरकारबाट आत्मसम्मानको महसुस गरेका छौँ, त्यो खुशी साट्न बुटवल आउँदै गर्दा धेरै स्थानमा अवरोध गरियो । प्रतिगामी कार्यक्रममा नजानका लागि चर्को दबाब दिइएको छ ।'

पूर्वलडाकुहरुका थप माग र मुद्धाहरुको सुनुवाई अहिलेको सरकारले गर्ने मुख्यमन्त्री शंकर पोखरेलले बताए । कार्यक्रममा उर्जामन्त्री रायमाझीले दाहालहरुबाट अब कुनै परिर्वतन सम्भव नभएको भन्दै विगतमा पुर्व जनमुक्ति सेनाहरु जस्तै आफु पनि प्रयोग भएको बताए ।

'हामी पनि धेरै समयदेखि प्रयोग भइयो, अब कुरा बुझियो सबै एकै ठाउँमा भएर उनको वास्तविक चरित्र उदाङ्गो बनाउनु पर्छ' उनले भने । उनीहरूले आफ्नो भेलापछि केपी ओलीको सभा तथा जुलुसमा मार्चपाससमेत गर्ने भएका छन् । जसले सम्मान दिन्छ उसैलाई साथ दिने भन्दै पुर्वलडाकु आजमती अधिकारीले अहिले सकारले मात्र आफूहरुलाई खोजेको बताइन् । 
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x