राजनीति

रोल्पा र रुकुममा चुनाव जितेर देखाउन दाहाललाई पोखरेलको चुनौती

इकागज |
फागुन १, २०७७ शनिबार १७:५७ बजे

फाइल फाेटाे

काठमाडौँ  : 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी शर्मा ओली पक्षले रोल्पा र रुकुममा चुनाव जितेर दाहाल-नेपाल नेतृत्वको नेकपाले कम्युनिष्ट आन्दोलनले हित गर्न सक्दैन भन्ने प्रमाणित गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले जनयुद्धको थलोको रुपमा रहेको रोल्पा र रुकुममा विजयको झण्डा फहराएर दाहाल–नेपालले नेतृत्व गरेको पार्टीले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित गर्ने दाबी गरेका हुन् ।  

‘रोल्पा रुकुमलाई जनयुद्धको थलोका रुपमा कमरेड प्रचण्डले जे चाह्यो त्यहि हुने थलोको रुपमा चित्रण गर्ने गरिन्छ । तर, आउने चुनाव रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झण्डा फहराउँदैछ भन्ने कुराको उद्घोष गर्न चाहान्छु,’ उनले भने, ‘प्रचण्ड र माधव कमरेडले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्नेकुरा हामी रोल्पा र रुकुमका माध्यमबाट प्रमाणित गर्ने योजनाका साथ अगाडि बढेको कुरा म तपाइँहरुका बीचमा राख्न चाहान्छु ।’


 पोखरेलले दाहाल–नेपाल पक्ष चुनावबाट भागेको आरोपसमेत लगाए । उनले पुष्पकमल दाहालले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हिर्काउन खोजे पछि भुइँमा पछारिएको बताए । दाहालले एमालेको विभाजनबाट लाभ लिन खोजेपनि जनमतको भिख माग्नुपर्ने अवस्थामा पुगेको पोखरेलको आरोप छ ।  दाहाललाई जनयुद्धका कमाण्डरहरुलेसमेत साथ छोड्दै केपी शर्मा ओलीको नेतृत्वको पार्टीमा आएको उनको दाबी छ ।  

‘जनताबाट डराएर चुनावबाट भाग्न खोज्दै हुनुहुन्छ । सम्माननीय प्रधानमन्त्रीलाई आरोपित गर्दै हुनुहुन्छ । प्रथम अध्यक्षलाई आरोपित गर्दै हुनुहुन्छ । कमरेड प्रचण्ड, जनयुद्धको समयमा उहाँको एउटा चर्चित भनाई थियो, ढाडमा टेकेर टाउकोमा हान्ने । पटक पटक उहाँले ककसका ढाडमा टेक्नुभयो कस कसको टाउकोमा हिर्काउनुभयो त्यो इतिहासका कुरा भए तर पार्टी एकता पछाडि उहाँ माधव नेपालको ढाडमा टेकेर कमरेड केपी ओलीको टाउकोमा हिर्काउन खोज्नुभएको थियो,’ उनले भने, ‘आज सडकमा पछारिनुभएको छ । बिलौनाका गितहरु गाउँदै हुनुहुन्छ र अब एमाले भित्रको विभाजनबाट लाभ लिन खोज्ने प्रचण्ड जनताको जनमतको भिख माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ । अब कमरेड प्रचण्डका साथमा हिजोका जनयुद्धका कमाण्डरहरुले साथ छोड्दै हुनुहुन्छ ।’ 


Author

थप समाचार
x