राजनीति

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजारले रोजगारी पाए : श्रम मन्त्रालय

इकागज |
फागुन २, २०७७ आइतबार १९:२५ बजे

काठमाडौँ : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजार बढीले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालू आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक प्रगति विवरण र समग्र प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत फागुन २ गतेसम्म ७ लाख ४३ हजार १ सय ६४ जना बेरोजगारको विवरण आएको बताए । आएका मध्ये १५ हजार ६ सय ७० जनाले पारिश्रमिकसहित रोजगारी सुरु गरिसकेको जानकारी मन्त्री चोधरीले जानकारी दिए ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत  कार्यरत २ लाख जना श्रमिकहरूको सामुहिक दुर्घटना विमा गरिएको पनि जानकारी दिए । मन्त्री चौधरीले सामाजिक सुरक्षा कोषमा ४ अर्ब १८ करोड संकलन भएको बताए । उनले हालसम्म ९ वटा देशसँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको र ५ देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाइएको जनाए । 


कोभिड-१९ को कारणले विदेशमा रोजगारी गुमाई अलपत्र परेका १ सय ८७ जना कामदारलाई उद्दार गरिसकिएको र थप ३ महिलासहित ३९ जनाको उद्दारका लागि विभिन्‍न दुतावासमा पत्राचार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

मन्त्री चौधरीले विभिन्‍न ऐन, नियम, कार्यविधि, मापदण्ड तथा निर्देशिकाहरू संशोधन तथा जारी भएको पनि जानकारी दिए । वैदेशिक रोजगार बोर्डबाट वैदेशिक रोजगारीमा मृत्यु भएका ६ सय ८८ जना मृतकका परिवारलाई ४८ करोड ४९ लाख रुपैयाँ उपलब्ध गराइएको, अंगभंग भएका ६० जना कामदारलाई २ करोड ७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको, ४२५ जना कामदारको शव घर ठेगानामा पुर्‍याइएको र १७३ जनाको शव सम्बन्धित देशमा नै अन्त्येष्टि गरिएको उनको भनाइ छ । उनले सामाजिक सुरक्षा योजना संशोधन कार्यविधि २०७५ मा दोस्रो संशोधन भएको समेत जानकारी दिए । 


Author

थप समाचार
x